एमाले चुनावी रणनीति : उम्मेदवारलाई ‘टोकन मनी’ दिइने, डिजिटल प्रचार र आक्रामक प्रतिवादका लागि टोली ‘स्ट्याण्डबाइ’
काठमाडौं : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले दुई वर्षअघि सरेर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरू आफ्नो रणनीति बनाएर चुनावी मैदानमा होमिएका छन्।
कसैले उम्मेदवारलाई डिजिटलरुपमा सहयोग गर्ने नीति लिएर एक रुपैयाँ पनि नदिने नीति लिएका छन् भने कतिले केही रकम उम्मेदवारहरूलाई दिने नीति लिएका छन्। यसका अलावा दलहरूले उम्मेदवारहरूको प्रचारका लागि केन्द्रदेखि वडासम्मको समितिलाई परिचालन गरेको छ।
यसैक्रममा एमालेले पनि आफ्ना उम्मेदवारलाई जिताउन सम्पूर्ण सांगठनिक शक्ति परिचालन गरेको छ। निर्वाचनको मिति नजिकिएसँगै एमालेले केन्द्रदेखि वडा तहसम्मका संरचनालाई सक्रिय बनाउँदै चुनावी मैदानमा आक्रामक उपस्थिति जनाएको हो।
पार्टीले नीति निर्माणदेखि आर्थिक व्यवस्थापन, प्रचार संयन्त्र र युवा परिचालनका लागि छुट्टाछुट्टै कमिटीहरू बनाएर कार्य विभाजन गरेको छ।
यसपटक एमालेले उम्मेदवारलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने रणनीति लिएको छ भने प्रचारप्रसारलाई ‘डिजिटल’ मैत्री बनाउन विशेष जोड दिएको छ।
ओलीको कमान्डमा घोषणापत्र, बादललाई ‘अपरेसन’ को जिम्मा
एमालेले निर्वाचनको वैचारिक र सांगठनिक नेतृत्वका लागि शीर्ष नेताहरूलाई नै जिम्मेवारी तोकेको छ। पार्टीको आगामी कार्यदिशा र चुनावी प्रतिबद्धता झल्किने घोषणापत्र लेखनको कमान्ड स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्हालेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेर एमालेले घोषणा पत्र लेखनको काम गरेको छ। ओलीको संयोजकत्वमा बनेको कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्।
घोषणापत्रलाई जनमुखी र यथार्थपरक बनाउन पार्टी पङ्क्ति र जनवर्गीय सङ्गठनहरूबाट सुझाव सङ्कलन गरिएको एमालेले जनाएको छ। त्यस्तै, चुनावी मैदानमा कार्यकर्ता परिचालन र साङ्गठनिक व्यवस्थापनको जिम्मा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पाएका छन्।
बादलको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीले देशभरको चुनावी माहोल तताउने काम गरिरहेको छ। यो कमिटीको सचिवमा विष्णु रिमाल तथा सदस्यहरूमा राजन भट्टराई, छविलाल विश्वकर्मा, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी रहेका छन्।
खर्च व्यवस्थापन : उम्मेदवारलाई ‘टोकन मनी’ दिइने
यसपटकको निर्वाचनमा एमालेले आर्थिक व्यवस्थापनमा स्पष्ट नीति अख्तियार गरेको छ। पार्टीले उम्मेदवारलाई केन्द्रबाट ठूलो रकम पठाउने परम्परालाई तोड्दै ‘आत्मनिर्भर’ मोडल अपनाएको छ।
केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्य रमेश बडालका अनुसार पार्टीले उम्मेदवारलाई ‘टोकन मनी’ मात्र उपलब्ध गराउनेछ। बाँकी सम्पूर्ण खर्चको व्यवस्थापन उम्मेदवार स्वयंले गर्नुपर्ने नीति लिइएको छ।
‘पार्टीको केन्द्रीय तहबाट निश्चित रकम त जान्छ, तर त्यो न्यूनतम हुन्छ,’ बडालले भने, ‘मूलतः आफ्नो क्षेत्रमा प्रचारप्रसार र व्यवस्थापनका लागि लाग्ने खर्च उम्मेदवार आफैँले बेहोर्नुपर्छ। यसले उम्मेदवारलाई आफ्नो निर्वाचन क्षेत्रप्रति थप जिम्मेवार बनाउँछ।’
‘साइबर वार’ मा एमाले : स्वयंसेवी दस्ता परिचालन
यसअघि पनि ‘साइबर सेना’ बनाएर आफ्ना विपक्षीको आक्रमणलाई कडा रूपमा प्रतिवाद गर्दै आएको एमालेले यसपटक पनि त्यसलाई निरन्तरता दिने भएको छ। त्यसलाई उसले डिजिटल मिडिया र सूचना प्रविधि नाम दिएको छ।
विपक्षीबाट आउन सक्ने आरोपहरूको तत्काल प्रतिवाद गर्ने र आफ्ना एजेन्डाहरू आक्रामक रूपमा स्थापित गर्ने रणनीति पार्टीले लिएको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं निर्वाचन परिचालन कमिटी सदस्य मीनबहादुर शाहीका अनुसार डिजिटल प्लेटफर्मका लागि पार्टीले छुट्टै ‘आईटी टिम’ परिचालन गरेको छ। यो सम्पूर्ण काम तलब खाने कर्मचारीबाट नभई पार्टीका स्वयंसेवकहरूबाट भइरहेको उनको दाबी छ।
‘हामी मिडियामा अलि आक्रामक ढङ्गले प्रस्तुत भएका छौँ, अनावश्यक आरोपहरूको तत्काल डिफेन्स गर्ने रणनीति छ,’ शाहीले भने, ‘सामाजिक सञ्जाल हेर्ने र डिजिटल कन्टेन्ट बनाउने काममा हाम्रा स्वयंसेवक साथीहरूले योगदान गरिरहनुभएको छ। यसमा व्यवस्थापकीय बाहेक अन्य लगानी छैन।’
फेसबुक, टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालमा श्रव्य-दृश्य सामग्रीको व्यापक प्रयोग गर्ने र भ्रम चिर्ने काममा यो टोली २४ सै घण्टा खटिएको बताइएको छ।
अहिलेको निर्वाचनमा बहुमत ल्याएर फेरि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने एमालेको दाबी छ। मुख्य गरी भदौ २३ गते बानेश्वरमा १९ जना विद्यार्थी मारिँदा ओली नै सत्तामा रहेकोमा आलोचना खेप्ने गरेको एमालेले भदौ २४ गते भएको ध्वंसलाई मुख्य अजेन्डा बनाएर चुनावमा होमिएको छ।
सातै प्रदेशमा ‘कमान्डर’ तोकियो
निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन एमालेले सातै प्रदेशमा र विशेष क्षेत्रका लागि संयोजकहरू तोकेको छ।
केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नाले कमान्ड सम्हालेका छन्।
साथै, राजधानी (उपत्यका) विशेष क्षेत्रका लागि राजन भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको छ।
यी प्रदेश संयोजकहरूले आ-आफ्नो भूगोलभित्रका जिल्ला र निर्वाचन क्षेत्रको समन्वय गर्नेछन्। परिचालन कमिटी सदस्य बडालका अनुसार यी संरचनाहरूले उम्मेदवारको अवस्था विश्लेषण गर्ने र सोही अनुरूप रणनीति बनाउने काम गरिरहेका छन्।
युवा र विद्यार्थी पङ्क्ति अग्रमोर्चामा
बुथ सुरक्षादेखि घरदैलो अभियानसम्म युवा शक्तिलाई परिचालन गर्न एमालेले भ्रातृ सङ्गठनहरूलाई जिम्मेवारी दिएको छ। राष्ट्रिय युवा सङ्घका तर्फबाट क्षितिज थेबे र अनेरास्ववियु (विद्यार्थी)को तर्फबाट समिक बडालको नेतृत्वमा युवा परिचालन समिति बनाइएको छ।
‘युवाले युवालाई, विद्यार्थीले विद्यार्थीलाई र महिलाले महिलालाई नै परिचालन गर्ने गरी विकेन्द्रीकृत संरचना बनाइएको छ’, परिचालन कमिटी सदस्य भीष्म अधिकारीले उकेरालाई जानकारी दिए।
प्रत्येक निर्वाचन क्षेत्रमा प्रचार समिति, आर्थिक समिति, प्रशासनिक, जनसांस्कृतिक र बुथ कमिटीहरू गठन गरी एमाले पूर्ण रूपमा निर्वाचनमा होमिएको छ। भूगोल बाहिर रहेका मतदातालाई समेट्न सम्पर्क समन्वय समितिहरू पनि सक्रिय बनाइएको उनले जानकारी दिए।
पार्टीका चुनावी रणनीतिबारे उकेराले यसअघि प्रकाशित गरेका सामग्री:
फागुन ४, २०८२ सोमबार ०९:५८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।