बलूच लिबरेशन आर्मीद्वारा १७ पाकिस्तानी सैनिक नियन्त्रणमा, रिहाइका लागि एक हप्ताको ‘अल्टिमेटम’
एजेन्सी : बलूच लिबरेशन आर्मी (बीएलए)ले आइतबार १७ जना पाकिस्तानी सैनिकलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।
विद्रोही समूहले तीमध्ये १० जनालाई रिहा गरिसकेको र बाँकी ७ जनाको बदलामा जेलमा रहेका बलूच लडाकुहरूलाई रिहा गर्न पाकिस्तान सरकारलाई सात दिनको समय सीमा दिएको छ।
बीएलएको मिडिया विङ्ग ‘हक्काल’ मार्फत जारी गरिएको बयान अनुसार यो कारबाही ‘अपरेशन हेरोफ’ को दोस्रो चरण हो। यद्यपि, पाकिस्तानी सेना वा सरकारले यस घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
बीएलए का प्रवक्ता जीयन्द बलूचका अनुसार नियन्त्रणमा लिइएका १७ मध्ये १० जना स्थानीय बलूच मूलका प्रहरी थिए। उनीहरूलाई चेतावनी दिएर छाडिएको छ। बाँकी ७ जना पाकिस्तानी सेनाका नियमित सिपाही हुन्।
ती सैनिकहरूलाई विद्रोहीको ‘बलूच नेशनल कोर्ट’ मा पेश गरिएको दाबी गरिएको छ। उनीहरूमाथि सर्वसाधारण विरुद्धको दमन, व्यक्ति बेपत्ता पार्ने कार्यमा संलग्नता र बलूच नरसंहारको आरोप लगाइएको छ।
बीएलएले ती सैनिकहरूलाई दोषी ठहर गरिएको भए पनि कैदीबन्दी साटासाट गर्नका लागि सरकारलाई ७ दिनको समय दिइएको बताएको छ।
के हो ‘अपरेशन हेरोफ’?
‘हेरोफ’को अर्थ बलूच भाषामा ‘तुफान’ हुन्छ। बीएलएले २५-२६ अगस्ट २०२४ को रात बलूचिस्तानका १० भन्दा बढी जिल्लाहरूमा एकसाथ ठुलो आक्रमण गरेको थियो, जसलाई उनीहरूले ‘अपरेशन हेरोफ’ नाम दिएका थिए।
सो आक्रमणमा ७३ भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जसमा ३१ सुरक्षाकर्मी र कैयौँ नागरिक थिए। बीएलएको आत्मघाती दस्ता ‘मजीद ब्रिगेड’ पनि यसमा सामेल थियो।
सन् २००० को दशकदेखि सक्रिय बीएलए ले बलूचिस्तानको स्वतन्त्रताका लागि सशस्त्र सङ्घर्ष गर्दै आएको छ। प्राकृतिक स्रोत र खनिजले भरिपूर्ण भए पनि बलूचिस्तान पाकिस्तानको सबैभन्दा गरिब प्रान्त हो।
बलूच विद्रोहीहरूले राज्यले आफूहरूको स्रोतसाधन शोषण गरेको र चीनको लगानीमा सञ्चालित सीपीईसीजस्ता परियोजनाले बलूच जनतालाई फाइदा नपुऱ्याएको आरोप लगाउँदै आएका छन्।
ग्लोबल टेररिज्म इन्डेक्स २०२५ का अनुसार, पाकिस्तान विश्वकै दोस्रो सबैभन्दा बढी आतङ्क प्रभावित देश बनेको छ। सन् २०२४ मा चौथो स्थानमा रहेको पाकिस्तान अहिले बुर्किना फासोपछि दोस्रो स्थानमा पुगेको हो।
रिपोर्टका अनुसार पाकिस्तानमा हुने कुल आतङ्कवादी घटनामध्ये ९० प्रतिशत खैबर पख्तुनख्वा र बलूचिस्तान क्षेत्रमा हुने गरेका छन्।
तहरीक-ए-तालिबान पाकिस्तान र बलूच लिबरेशन आर्मी (बीएलए)का गतिविधिमा उल्लेख्य वृद्धि भएको रिपोर्टमा उल्लेख छ। टीटीपीका हमलामा ९० प्रतिशत र बीएलए का हमलामा ६० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ।
फागुन ४, २०८२ सोमबार ०७:५८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।