निर्वाचन आयोगद्वारा राजनीतिक दलहरूलाई ६४ बुँदे कडा निर्देशन

निर्वाचन आयोगद्वारा राजनीतिक दलहरूलाई ६४ बुँदे कडा निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन राजनीतिक दल तथा उम्मेदवारहरूका लागि ६४ बुँदे विशेष निर्देशन जारी गरेको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन आचारसंहिता, २०८२ को अक्षरशः पालना गर्न सचेत गराएको हो।

आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न पाउनेछन्। तर मतदाता भेटघाटका बहानामा विभिन्न दलका उम्मेदवारहरू उम्मेदवारी दर्तादेखि नै प्रचारमा छन्।

आयोगले भने फागुन ४ देखि १८ सम्म बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचार गर्न पाइने र मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि (मौन अवधि) कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने उल्लेख गरेको छ।

आयोगले मतदातालाई लोभ लालच, आर्थिक प्रलोभन देखाउन, भोजभतेर आयोजना गर्न र डर-धम्की दिएर प्रभावमा पार्न पूर्णतः रोक लगाइएको छ। ७५ ग्रामको कागजमा ३०० वर्ग इन्चसम्मको एकै रङको पर्चा बाहेक अन्य पोस्टर, भित्ते लेखन, डिजिटल डिस्प्ले र ब्यानर प्रयोगमा रोक लगाएको छ।

आयोगका अनुसार निर्वाचन क्षेत्रमा बढीमा दुईवटा दुईपाङ्ग्रे वा चारपाङ्ग्रे हलुका सवारी साधन मात्र प्रयोग गर्न पाइनेछ, जसका लागि निर्वाचन अधिकृतको अनुमति अनिवार्य छ। सरकारी वा सार्वजनिक निकायका सवारी साधन प्रयोग गर्न पाइने छैन।

२५ हजार रुपैयाँभन्दा बढीको सहयोग लिँदा बैंकमार्फत लिनुपर्ने र निर्वाचन खर्चको विवरण परिणाम घोषणा भएको ३५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ। निर्वाचनका कुनै पनि कार्यक्रम वा जुलुसमा बालबालिकालाई सहभागी गराउन नपाइने निर्देशनमा उल्लेख छ।

सामाजिक सञ्जाल र प्रविधि

आयोगले अनलाइन वेबपेज, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट समेत मौन अवधिमा प्रचारप्रसार गर्न, शेयर गर्न वा प्रतिक्रिया दिन निषेध गरेको छ। यस्तै, एटिएम काउन्टर, सपिङ मलका डिस्प्ले र सडक नाटकबाट हुने प्रचारमा पनि रोक लगाइएको छ।

यसपटक आयोगले वातावरणीय संवेदनशीलतालाई ध्यान दिँदै प्लास्टिक वा पोलिथिन जस्ता अजैविक सामग्रीको प्रयोग नगर्न निर्देशन दिएको छ। निर्वाचन सामग्रीहरू वातावरणमैत्री हुनुपर्ने र कार्यक्रम सकिएपछि उम्मेदवार आफैँले ती सामग्रीको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ।

उल्लंघन गरेमा के हुन्छ?

आयोगले निर्देशनको अवज्ञा गर्ने, मतपत्र वा मतपेटिका कब्जा गर्ने, नक्कली मतपत्र प्रयोग गर्ने र चरित्र हत्या गर्ने जस्ता कार्य गरेमा प्रचलित सङ्घीय कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। आयोगले नागरिकहरूलाई पनि आचारसंहिता उल्लंघन भएको पाइएमा उजुरी दिन आह्वान गरेको छ।

फागुन ३, २०८२ आइतबार १७:०६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।