नेपालको लगातार तेस्रो हार, वेस्टइन्डिज सुपर ८ मा प्रवेश

नेपालको लगातार तेस्रो हार, वेस्टइन्डिज सुपर ८ मा प्रवेश

काठमाडौं : आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेटमा नेपाल दुई पटक विश्वविजेता बनेको वेस्टइन्डिजसँग ९ विकेटले पराजित भएको छ।

आइतबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र १५.२ ओभरमा १ विकेट गुमाउँदै सहजै भेट्टायो।

योसँगै लगातार तेस्रो जित निकालेको वेस्टइन्डिज सुपर ८ मा प्रवेश गरेको छ। तेस्रो खेलमा पराजित भएपछि नेपालको भने सुपर एटमा पुग्ने सम्भावना सकियो।

१३४ रनको मध्यम लक्ष्य पछ्याएको वेस्ट इन्डिजका लागि साई होप र शिम्रन हेटमायरले उत्कृष्ट ब्याटिङ गरे। होप ६१ रनमा अविजित रहे भने हेटमायर ४६ रनमा अविजित रहे। ओपनर ब्राण्डन किङ २२ रन बनाएर आउट भएका थिए। 

नेपालका लागि एकमात्रै विकेट नन्दन यादवले लिए। नेपालका बलरहरूले वेस्ट इन्डिजका ब्याटरलाई दबाबमा राख्न सकेनन्। वेस्ट इन्डिजले २८ बल बाँकी छँदै जित हासिल गर्यो।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। नेपालको सुरुवात निकै खराब रह्यो। 

ओपनर कुशल भुर्तेल १ रन, कप्तान रोहित पौडेल ५ रन र आरिफ शेख २ रनमै आउट भएपछि नेपाल संकटमा परेको थियो। तर, मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै नेपालको इनिङ्स सम्हाले। उनले ४६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको योगदान दिए। 

खेलको अन्त्यतिर सोमपाल कामीले राम्रो ब्याटिङ गर्दै १५ बलमा ४ छक्कासहित २६ रन जोडेपछि नेपाल सम्मानजनक स्कोरसम्म पुगेको थियो। वेस्ट इन्डिजका बलर जासोन होल्डरले ३ विकेट लिए भने अकिल होसैन, म्याथ्यू फोर्ड, रोस्टन चेज र समर जोसेफले १-१ विकेट लिए।

फागुन ३, २०८२ आइतबार १४:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।