दीपेन्द्रको अर्धशतकले टिक्यो नेपाल : वेस्टइन्डिजविरुद्ध १३४ रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकले टिक्यो नेपाल : वेस्टइन्डिजविरुद्ध १३४ रनको लक्ष्य

काठमाडौं : आइसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालले दुई पटक विश्वविजेता बनेको वेस्टइन्डिजलाई जितका लागि १३४ रनको लक्ष्य दिएको छ।

आइतबार मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले। उनले ४६ बलको सामना गर्दै ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५८ रन जोडे।

पछिल्लो क्रममा सोमपाल कामीले राम्रो ब्याटिङ गर्दै नेपाली इनिङ्सलाई सम्मानजनक अवस्थामा पुऱ्याए। उनले मात्र १५ बलमा ४ छक्का प्रहार गर्दै अविजित २६ रनको योगदान दिए। दीपेन्द्र र सोमपालबीचको साझेदारीले नै खेल लयमा फर्काएको हो।

नेपालको सुरुवात भने अत्यन्तै कमजोर रहेको थियो। ओपनर कुशल भुर्तेल मात्र १ रनमा आउट भए भने कप्तान रोहित पौडेल ५ रन र आरिफ शेख २ रनमै पभेलियन फर्किए। अन्य ब्याटरहरूमा लोकेश बमले १३ रन जोडे भने आसिफ शेख र गुल्सन झाले समान ११-११ रन बनाए।

वेस्टइन्डिजका बलरहरूले सुरुवातदेखि नै दबाबमा राखे। जासोन होल्डरले ३ विकेट लिँदै नेपालको माथिल्लो क्रम धराशायी बनाए। त्यस्तै, अकिल होसैन, म्याथ्यू फोर्ड, रोस्टन चेज र समर जोसेफले १-१ विकेट हात पारे।

यसअघिका दुई खेलमा पराजित भएको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ। मुम्बईको ब्याटिङ पिचमा १३४ रनको लक्ष्य जोगाउन नेपाली बलरहरूलाई निकै चुनौतीपूर्ण हुनेछ। यद्यपि, दीपेन्द्र र सोमपालको लयले नेपाली टोलीमा नयाँ ऊर्जा थपेको छ। अब सबैको ध्यान सन्दीप लामिछाने र सोमपाल कामी नेतृत्वको बलिङ युनिटमा अडिएको छ।

फागुन ३, २०८२ आइतबार १३:०९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।