टी-२० विश्वकप : कोलम्बोमा आज भारत र पाकिस्तान भिड्दै, कसले मार्ला बाजी ?

टी-२० विश्वकप : कोलम्बोमा आज भारत र पाकिस्तान भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं : आइसिसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुकी ७:१५ बजे सुरु हुनेछ।

विश्व क्रिकेटकै सर्वाधिक प्रतीक्षित मानिने भारत र पाकिस्तानबीचको खेल केवल खेलमा मात्र सीमित नभई दुई देशको कूटनीतिक प्रतिष्ठा र 'सुपर-८' को समीकरणका दृष्टिले समेत निकै महत्त्वपूर्ण मानिएको छ।

यस पटकको विश्वकपमा भारत र पाकिस्तानबीचको खेल हुनुअघि केही अन्यौलता देखिएको थियो। पाकिस्तानले भातरविरूद्धको खेल नखेल्ने भनेको थियो। पछि पाकिस्तानी सरकारले भारतविरुद्ध खेल्न अनुमति दिएको थियो।

सुरक्षाको कारण देखाउँदै पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरेपछि श्रीलंकामा खेल सञ्चालन गर्ने सहमति भयो। श्रीलंकाको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँगको छलफलपछि पाकिस्तान खेल्न तयार भयो। 

यसअघि, भारतमा खेल्न अस्वीकार गरेकै कारण बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राखिएको छ भने उसको स्थानमा स्कटल्यान्डले सहभागिता जनाइरहेको छ।

समूह 'ए' को अवस्था र अंक तालिका

समूह 'ए' मा रहेका भारत र पाकिस्तान दुवै अहिले अपराजित छन्। दुवै टोलीले आफ्ना अघिल्ला दुई-दुई खेल जितेर ४-४ अंक जोडेका छन्। भारतले नामिबियालाई ९३ रन र संयुक्त राज्य अमेरिकालाई २९ रनले पराजित गरेको थियो। 

यता पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेट र अमेरिकालाई ३२ रनले हराएको थियो। रनरेटका आधारमा भारत अहिले तालिकाको शीर्ष स्थानमा छ। आजको विजेता टोलीले सुपर-८ मा आफ्नो स्थान लगभग सुनिश्चित गर्नेछ।

ऐतिहासिक रेकर्ड र पछिल्लो लय

ऐतिहासिक रूपमा भारतको पल्ला भारी देखिन्छ। विगतका पाँच खेलमा भारतले पाकिस्तानलाई लगातार पराजित गरेको छ। सन् २०२४ को विश्वकपमा भारतले ६ विकेट र २०२२ मा ४ विकेटले पाकिस्तानलाई हराएको थियो। यद्यपि, सन् २०२१ को विश्वकपमा पाकिस्तानले भारतमाथि १० विकेटको ऐतिहासिक जित निकालेको थियो। आजको खेलमा पाकिस्तान पुनरागमन गर्ने रणनीतिमा हुनेछ।

मैदान, मौसम र बजारको दबाब

कोलम्बोको प्रेमदासा स्टेडियमको पिच स्पिनरहरूका लागि सहयोगी हुने अनुमान गरिएको छ। मौसम विभागका अनुसार खेलको समयमा वर्षा हुने सम्भावना १० प्रतिशत मात्र रहेकाले पूर्ण ओभरको खेल हुने अपेक्षा छ।

यो खेललाई लिएर समर्थकहरूमा उत्साह र उत्सुकता छाएको छ। उच्च मागका कारण एउटै टिकटको मूल्य २.५ लाख श्रीलङ्काली रुपैयाँसम्म पुगेको छ भने भारतबाट कोलम्बोको हवाई भाडासमेत अत्यधिक महँगो भएको छ। कोलम्बोका होटलहरू पूर्णरूपमा भरिएका छन्, जसले श्रीलंकाको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ।

भारतको मजबुत ब्याटिङ र पाकिस्तानको धारिलो बलिङबीचको हुने प्रतिस्पर्धाले विश्वभरका क्रिकेट प्रेमीहरूको ध्यान खिचेको छ। दुवै टोली आजको खेल जितेर समूहको शीर्ष स्थान कब्जा गर्ने दाउमा मैदान उत्रनेछन्।

फागुन ३, २०८२ आइतबार १०:१०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।