लुम्बिनी आयुर्वेदमा बढ्दो चाप, सीमित स्रोत

लुम्बिनी आयुर्वेदमा बढ्दो चाप, सीमित स्रोत

बुटवल : बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा पछिल्लो समय आयुर्वेद चिकित्सातर्फ नागरिकको आकर्षण उच्च देखिएको छ। तर, सेवाग्राहीको चाप वृद्धि भए पनि सरकारी बजेट र औषधि आपूर्तिमा भने प्राथमिकता नपर्दा सेवा प्रवाहमा चुनौती थपिएको छ।

चिकित्सालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १७ हजार ७०८ जनाले सेवा लिएकोमा गएको आर्थिक वर्षमा यो संख्या करिब पाँच गुणाले बढेर ८६ हजार ३४० पुगेको छ। अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता र फेरिएको जीवनशैलीका कारण नसर्ने तथा दीर्घ रोगको जोखिम बढेपछि त्यसको प्राकृतिक उपचार खोज्दै बिरामीहरू आयुर्वेदतर्फ आकर्षित भइरहेका छन्।

चिकित्सालयका अनुसार धूम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले निम्त्याएको शारीरिक तथा मानसिक स्वास्थ्य जोखिम न्यूनीकरणका लागि जडीबुटीजन्य र प्राकृतिक चिकित्सा भरपर्दो विकल्प बन्दा सेवाग्राहीको चाप बढेको देखिन्छ। तर, सेवाग्राहीको संख्या बढे पनि औषधि खरिदका लागि प्राप्त हुने बजेटले वर्षभरि धान्न मुस्किल परेको कार्यालय प्रमुख डा. कलावती विश्वकर्माको भनाई छ।

चिकित्सालयबाट आयुर्वेद सम्बन्धी निःशुल्क औषधिसमेत पर्याप्त पाउन नसकेको उनको गुनासो छ। डा. विश्वकर्माका अनुसार औषधि खरिदका लागि विनियोजित बजेटले बढीमा पाँच महिना मात्र औषधि वितरण गर्न पुग्छ। "आएका सबैलाई औषधि दिन सकिँदैन। जसका कारण सेवाग्राही नागरिक निःशुल्क औषधिबाट वञ्चित भएका छन्," उनले भनिन्।

लुम्बिनी आयुर्वेदबाट नागरिकले ७ प्रकारका सेवाहरू पाउँछन्। बहिरंग सेवा, अन्तरंग सेवा, प्रयोगशाला, जेष्ठ नागरिक सेवा, मातृशिशु सेवा, पूर्वकर्म एवं पञ्चकर्म सेवाहरू, जीवनशैली परामर्श र स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालनमा छन्।

गएको आर्थिक वर्षमा बहिरंग सेवा मात्र ४३ हजार २९ जनाले लिएको अस्पतालले जनाएको छ। त्यस्तै पूर्वकर्म, पञ्चकर्म १६ हजार ९ सय जनाले सेवा लिए। जेष्ठ नागरिक सेवातर्फ १३ हजार ५२३ र प्रयोगशाला सेवा ११ हजार २९६ जनाले सेवा लिँदा २२७ जनाले अन्तरंग सेवा लिए।

समुदायसँग जोडिँदै

दीर्घ रोग, नसर्ने रोग तथा मानसिक रोगको रोकथाम, मातृ तथा बाल स्वास्थ्य प्रवर्द्धन, पोषण तथा स्वास्थ्य जीवनशैली प्रवर्द्धनका कार्यक्रमहरू चिकित्सालयले गरिरहेको छ। प्रदेश सरकारबाट समेत आयुर्वेद स्वास्थ्य कार्यक्रम स्वीकृत भई समुदायस्तरमा सञ्चालन गरिएको छ। जसले नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउनुका साथै चिकित्सा आयुर्वेदमा आकर्षण बढाउन मद्दत पुर्यायो।

चिकित्सालयले गएको वर्षमा कञ्चन र मर्चवारीका दुई ठाउँमा स्वास्थ्यकर जीवनशैली प्रवर्द्धनमा गृहिणीहरूको लागि भान्सा सुधार कार्यक्रम गरेको थियो। यसबाट ८० जना लाभान्वित भएका थिए। डा. विश्वकर्माका अनुसार यस कार्यक्रमबाट आयुर्वेदमा वर्णित असल खानपान आचरण, सु-आचारण र असल विचारसहित स्वास्थ्य रहने तथा जडीबुटीको पहिचान र प्रयोगबारे ज्ञान दिइएको थियो। 

समुदायको स्वास्थ्य प्रवर्द्धन गर्नका लागि सामुदायिक क्षमता विकास गरी जीवन चक्रमेको आधारमा आयुर्वेद प्रणाली निहित पोषणका ज्ञान र सीपहरू मार्फत स्वास्थ्यकर जीवन शैली अभिवृद्धि गर्ने लक्ष्य लिइएको उनले बताइन्।

त्यस्तै मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रम पनि देवदह, रोहिणी र सियारी गाउँपालिकामा गरिएको थियो। यसबाट ५९१ जना लाभान्वित भएको चिकित्सालयले जनाएको छ। यस कार्यक्रम अन्तर्गत रक्तचाप एवं रगत, पिसाबको निःशुल्क जाँचका साथै योग, व्यायाम, स्वास्थ्य जीवनशैलीको परामर्श पनि दिइएको थियो।

यसैगरी विद्यालय शिक्षकहरूको लागि आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रम, महिला बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार, पूर्वकर्म, पञ्चकर्म कार्यक्रम, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि आयुर्वेद तथा योग ध्यान कार्यक्रम, संक्रामक तथा नसर्ने रोग न्यूनीकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम स्थानीयस्तरमा हुने गरेको उनले बताइन्।

त्यस बाहेक नागरिक आरोग्य कार्यक्रमसमेत जिल्लाका ४ आरोग्य केन्द्रबाट दिइएको छ। यस कार्यक्रमअन्तर्गत ओपिडी सेवा, स्नेह स्वेदन, जेष्ठ नागरिक सेवा, सुत्केरी आमाहरूको लागि सामान्य स्वास्थ्य जाँच र दुग्धवर्धक औषधि वितरण, घर भेट कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग कार्यक्रम सञ्चालनमा छन्।

बजेटमा छैन प्राथमिकता

सेवाग्राहीको आकर्षण बढेपनि चिकित्सालयमा बजेट भने सधैँ जसो अभाव हुने गरेको डा. विश्वकर्मा बताउँछिन्। गएको आर्थिक वर्षमा कुल १ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। जसमध्ये संघीय सरकारबाट सशर्त अनुदानमा ६४ लाख ९३ हजार र प्रदेशबाट ८२ लाख रहेको थियो। कार्यालयले उक्त बजेट मध्ये ९९ दशमलव ५२ प्रतिशत बजेट खर्च गरेको छ।

"प्राप्त बजेट सबै सकिन्छ। थप बजेट नहुँदा कार्यक्रम कार्यान्वयनमा जटिलता छ," उनले भनिन्। पर्याप्त बजेट नहुँदा आवश्यकताअनुसार औषधी खरिद गर्न नसकिएको उनको भनाई छ।

१ करोड ४७ लाख बजेट पनि कर्मचारीको पारिश्रमिक र कार्यक्रमसहित हो। उनले संघबाट र प्रदेशबाट प्राप्त हुने रकम मध्ये २० लाखको औषधि खरिद गर्ने गरेको बताइन्। उनले नियमित औषधि खाने बिरामीहरूलाई समेत औषधि पुराएर दिनुपर्ने अवस्था रहेको बताइन्। 

"औषधि नछुटाई खाने बिरामीलाई प्राथमिकता दिन्छौ। निःशुल्क उपलब्ध हुन नसकेको अवस्थामा भित्रै सशुल्क फार्मेसी पनि छ। त्यहाँबाट खरिद गरेर औषधि सेवाग्राहीले लिनुहुन्छ," उनले भनिन्।

साँच्चै ओझेलमा छ आयुर्वेद

पछिल्लो समय आयुर्वेद चिकित्सातर्फ नागरिकमा चेतना बढेको देखिन्छ। राष्ट्रिय आयुर्वेद एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष नरहरि अर्यालले आयुर्वेद अस्पतालमा सेवा लिनेको संख्या बढ्दै गइरहेकोले राज्यले यसलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

सेवाग्राहीको बढ्दो संख्याअनुसार पर्याप्त बजेट नहुँदा कार्यक्रम कार्यान्वयनमा जटिलता भएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका कन्सल्टेन आयुर्वेद विज्ञ डा. विभाकर ठाकुरको भनाई छ। "बजेट बनाउँदा यसतर्फ त्यति चासो छैन। जनशक्ति उत्पादनमा पनि ध्यान नहुँदा कार्यक्रम कार्यान्वयनमा जटिलता छ," उनले भने।

उनले नसर्ने रोगमा आयुर्वेदको बजेटका लागि पहल गरिरहेको बताए। साथै सशुल्क फार्मेसी स्थापनाका लागि पनि निर्देशनालयले पहल गरिरहेको उनको भनाई छ। "बजेट नहुँदा समस्या छ। बजेट आयुर्वेदमा छैन। हामी यथेष्ट बजेट होस भनेर लबिङ गरेका छौं," उनले भने।

अस्पताल अपग्रेड भयो, तर दरबन्दी भएन

लुम्बिनी आयुर्वेद चिकित्सालय १५ बेडको अस्पताल हो। यहाँ आवश्यकताअनुसार विशेषज्ञ चिकित्सक छैनन्। डा. विश्वकर्माका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी नै छैन। अस्पतालमा ५ जना चिकित्सकहरू छन्। त्यी मध्ये एक जना मात्र दरबन्दीका हुन भने बाँकी ४ जना छात्रवृत्ति र विभिन्न कार्यक्रमका हुन्।

"अस्पताल अपग्रेड भएपनि दरबन्दी अपग्रेड भएको छैन। दरबन्दी नहुँदा पनि धेरै समस्या भएको छ। दरबन्दीका लागि प्रदेश सरकारलाई अनुरोध गरेका छौं," उनले भनिन्।

हाल अस्पतालमा वरिष्ठ कविराज निरीक्षक २ जना, वरिष्ठ वैद्य १ जना, आयुर्वेद चिकित्सक ३ जना, नर्सिङ अधिकृत १ जना, ल्याब टेक्निसियन १ जना, स्टाफ नर्स ३ जना वैद्य १ जना, लेखापाल १ जना, अभ्यासकर्ता ४ जना, कार्यालय सहयोगी ५ जना र सवारी चालक १ जना गरी २४ जना कर्मचारी रहेका छन्।

फागुन ३, २०८२ आइतबार ११:२९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।