शोभा ज्ञवालीको कथासङ्ग्रह 'मन्दाकिनी' सार्वजनिक

शोभा ज्ञवालीको कथासङ्ग्रह 'मन्दाकिनी' सार्वजनिक

काठमाडौं : कथाकार शोभा ज्ञवालीको पछिल्लो कथासङ्ग्रह 'मन्दाकिनी' विमोचन गरिएको छ। शनिबार राजधानीमा आयोजित एक विशेष समारोहका बीच  साहित्यकार नवराज लम्साल, बबिता बस्नेत लगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे।

करिब डेढ दशकदेखि लेखनमा सक्रिय ज्ञवाली विशेषगरी नारीमाथि हुने दुर्व्यवहारलाई लेखनको विषयवस्तु बनाउने गरेकी छन्। उनले कथाका पात्रमार्फत महिलाहरू कमजोर नभएको र उनीहरूमा दृढ आत्मविश्वास हुनुपर्ने वकालत गरेकी छन्।

ज्ञवालीका कथाहरूले महिलाहरू असहाय बनेर भाग्यलाई दोष दिनुको सट्टा अन्यायविरुद्ध उभिनुपर्ने र सशक्त हुनुपर्ने सन्देश प्रवाह गर्छन्। महिला सशक्तीकरणका लागि उनीहरूलाई आर्थिक रूपमा सबल बनाउन सीप प्रदान गरिनुपर्ने र त्यसलाई उद्यमसँग जोड्नुपर्ने धारणा उनका सिर्जनाहरूमा पाइन्छ।

बजारशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली कथामा मात्र हैन, स्वयं महिलालाई उद्यमी बनाउने कार्यमा पनि संलग्न छन्। नेपाल रिपब्लिक मिडियाकी निर्देशक, महिला उद्यमी महासङ्घकी उपाध्यक्ष र नेपाल-फिलिपिन्स उद्योग वाणिज्य सङ्घकी अध्यक्षसमेत रहेकी ज्ञवालीका प्रायः सबै लेखन उत्पीडनमा परेका महिलालाई हौसला प्रदान गरी सक्रिय र सशक्त पुनर्जीवनका लागि प्रेरित गर्न लागिपरेको देखिन्छन्।

आमा मिनु शर्माबाट 'जीवनमा केही गर्नुपर्छ' भन्ने दीक्षा पाएकी ज्ञवालीलाई पिता सुशीलराज शर्मा र पति विनोदराज ज्ञवालीको निरन्तर सहयोग रह्यो। वि.सं. २०७७ मा 'सम्पूर्ण आकाश' कथा सङ्ग्रह प्रकाशित गरेकी ज्ञवालीका दर्जनौं लेख तथा कथाहरू नागरिक दैनिक, परिवार मासिक र शुक्रबार साप्ताहिकमा प्रकाशित छन्।

लेखनमार्फत महिला सशक्तीकरणमा सरिक हुन पाउँदा सन्तोष लागेको ज्ञवालीले बताइन्। पछिल्लो कृति 'सङ्घर्ष'लाई उनले त्यसैको एक अङ्ग भएको बताइन्। 

फागुन २, २०८२ शनिबार १५:५५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।