सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै

सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै

एजेन्सी : सुडानको कोर्डोफान क्षेत्रमा पछिल्ला दिनहरूमा ड्रोन आक्रमण तीव्र रूपमा बढेका छन्। ती आक्रमणले व्यापारिक सवारी साधन, सञ्चार सञ्जाल तथा यातायात मार्गमा अवरोध पुर्याएको छ, जसका कारण मानवीय सहायता वितरण प्रभावित भएको बताइएको छ।

यसैगरी दक्षिण कोर्डोफानको राजधानी काडुग्ली तथा आसपासका क्षेत्रमा स्वास्थ्य केन्द्र लक्षित आक्रमण हुँदा कम्तीमा चार स्वास्थ्यकर्मीको मृत्यु भएको र २० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिइएको छ। यसले पहिले नै कमजोर अवस्थामा रहेको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब सिर्जना गरेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोर्डोफानमा करिब ८ सयभन्दा बढी व्यक्ति सुरक्षित स्थानतर्फ सरेका छन् भने अन्य क्षेत्रमा हजारौँ मानिस विस्थापित भएका छन्।

विस्थापितहरूलाई आश्रय, खाद्यान्न, स्वच्छ पानी, स्वास्थ्य सेवा तथा सुरक्षाको तत्काल आवश्यकता रहेको उल्लेख गरिएको छ। मानवीय सहायता छिटो, सुरक्षित र अवरोधरहित रूपमा उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

फागुन २, २०८२ शनिबार १४:२२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।