बहिष्कारको धम्की र पर्दापछाडिको ‘डिल’पछि कोलम्बोमा भिड्दै भारत-पाकिस्तान

बहिष्कारको धम्की र पर्दापछाडिको ‘डिल’पछि कोलम्बोमा भिड्दै भारत-पाकिस्तान

एजेन्सी : क्रिकेट कूटनीति र भूराजनीतिक खिचातानीको लामो शृङ्खलापछि, विश्व क्रिकेटका दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार जारी आईसीसी टी-२० विश्वकपको समूह ‘ए’ अन्तर्गतको खेलमा आमनेसामने हुँदैछन्। तर, यो खेल मैदानको ब्याट र बलमा मात्र सीमित हुनेछ वा यसमा फेरि राजनीति हाबी हुनेछ? भन्ने प्रश्नले खेल जगत  गर्माएको छ।

गत वर्ष युएईमा सम्पन्न एसिया कपको तिक्तता अझै बाँकी छ, जहाँ यी दुई टोली तीन पटक भिडेका थिए। गत एसिया कपको फाइनलमा भारतले पाकिस्तानलाई हराए पनि त्यस रातको मुख्य चर्चा खेलको नभई राजनीतिको थियो।

भारतीय टोलीले एसियाली क्रिकेट काउन्सिलका अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेपछि विवाद चर्किएको थियो। बदलामा नकवीले पुरस्कार वितरण समारोह नै टुङ्ग्याइदिएका थिए।

त्यति मात्र होइन, खेलाडीहरूले एक-अर्कासँग हात मिलाउन अस्वीकार गर्ने तथा मैदानमा गोली र बन्दुक पड्काएको सेलिब्रेसनले क्रिकेटको भावनामाथि नै प्रश्न उठेको थियो। सोही विवादका कारण एसिया कपको ट्रफी अझै पनि एसीसीको कार्यालयमै रहेको छ।

आइतबारको खेल हुने निश्चित हुनुअघि पनि यसबारेमा ठूलै अन्यौल कायम थियो। भारतमा सुरक्षाको कारण देखाउँदै बंगलादेशले खेल्न नमानेपछि आईसीसीले बंगलादेशको ठाउँमा स्कटल्यान्डलाई विश्वकपमा समावेश गर्यो। यसको विरोधमा पाकिस्तानले पनि विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्ने धम्की दियो।

तर, गत आइतबार लाहोरमा आईसीसी, पाकिस्तान र बंगलादेशका क्रिकेट बोर्डबीच भएको त्रिपक्षीय वार्तापछि मात्र यो गतिरोध अन्त्य भयो। आईसीसीले बंगलादेशलाई सन् २०२८ देखि २०३१ को बीचमा ठूला प्रतियोगिता आयोजना गर्न दिने र कुनै कारबाही नगर्ने आश्वासन दिएपछि पाकिस्तान खेलका लागि तयार भएको हो।

पाकिस्तानले आईसीसीबाट पाउने राजस्वको हिस्सा बढाउनुपर्ने र भारतसँगको द्विपक्षीय सिरिज सुरू हुनुपर्ने जस्ता मागहरू राखेको चर्चा भए पनि आईसीसीको आधिकारिक वक्तव्यमा यसबारे केही उल्लेख गरिएको छैन।

यसअघिको विवरण हेर्दा प्रतिस्पर्धामा भारत निकै बलियो देखिन्छ। टी-२० अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच भएका १६ भेटमध्ये भारतले १३ खेल जितेको छ। पाकिस्तानले सन् २०२२ यता भारतलाई हराउन सकेको छैन।

तथापि, डिफेन्डिङ च्याम्पियन भारतले यस पटक केही कमजोरी देखाएको छ। आफ्नो पहिलो खेलमा अमेरिकाविरुद्ध भारत ७७ रनमा ६ विकेट गुमाएको स्थितिमा पुगेको थियो। यता पाकिस्तानका ‘मिस्ट्री स्पिनर’ उस्मान तारिक भारतका लागि टाउको दुखाइ बन्न सक्छन्।

खेल विशेषज्ञ र फ्यानहरू आइतबारको खेलमा राजनीतिक दाउपेचभन्दा पनि मैदानभित्रको उत्कृष्ट प्रतिस्पर्धा हेर्न चाहन्छन्। अब आइतबारको खेलले क्रिकेटको साख जोगाउँछ वा फेरि विवादको भुमरीमा फस्छ, त्यो भने हेर्न बाँकी नै छ।

फागुन २, २०८२ शनिबार १०:०४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।