पोखराको फेवातालमा कार खस्दा चालकको मृत्यु

पोखराको फेवातालमा कार खस्दा चालकको मृत्यु

पोखरा : पोखरामा आज बिहान कार अनियन्त्रित भई फेवातालमा खस्दा एक युवकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-६ पामेस्थित गैराको चौतरा नजिकै आज बिहान करिब २ः१० बजे विएए १५८२ नम्बरको कार दुर्घटना भई तालमा खसेको थियो।

दुर्घटनामा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा-७ मासबार बस्ने २४ वर्षीय चालक अदित गुरुङको मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल कालिका गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहका अनुसार, दुर्घटनाको खबर प्राप्त हुनासाथ उनको कमान्डमा गोताखोरसहित २१ जनाको टोली तत्काल उद्धारमा खटिएको थियो।

गोताखोर टोलीले चालक गुरुङलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ। घटनाबारे थप अनुसन्धानका लागि कारलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको प्रहरीले जनाएको छ।

फागुन २, २०८२ शनिबार ०८:४९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।