टी-२० विश्वकप : क्यानडामाथि युएईको ५ विकेटको जित

टी-२० विश्वकप : क्यानडामाथि युएईको ५ विकेटको जित

काठमाडौं : आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार सम्पन्न खेलमा युएईले क्यानडामाथि ५ विकेटको जित निकालेको छ। 

तीव्र गतिका बलर जुनैद सिद्धिकीको उत्कृष्ट बलिङ र ओपनर आर्यन्स शर्माको अविजित अर्धशतकको मद्दतमा युएईले प्रतियोगितामा पहिलो जित दर्ता गर्यो।

क्यानडाले प्रस्तुत गरेको १५१ रनको विजयी लक्ष्य युएईले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। युएईको जितमा आर्यन्स शर्माले निर्णायक भूमिका खेले। उनले ५३ बल सामना गर्दै ६ चौका र ३ छक्काको मद्दतमा अविजित ७४ रनको योगदान दिए।

त्यस्तै, मध्यक्रमका ब्याटर सोहेब खानले २९ बलमा ५१ रनको अर्धशतकीय पारी खेल्दा अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

क्यानडाका बलर साद बिन जफरले ३ विकेट लिए भने कलिम साना र जसकरन सिंहले १-१ विकेट हात पारे। त्यसअघि पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५० रनको योगफल तयार गरेको थियो। 

क्यानडाका लागि हर्ष थाकरले सर्वाधिक ५० रन बनाए। उनले ४१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै, नवनीत धलिवालले ३४, श्रेयास मोभ्वाले २१ र दिलप्रित बाज्वाले ११ रन जोडे।

क्यानडाको ब्याटिङ लाइनलाई धराशायी बनाउने क्रममा युएईका जुनैद सिद्धिकी एक्लैले ५ विकेट लिए। उनले आफ्नो स्पेलमा ३५ रन खर्चिए। मोहम्मद जवादुल्लाहले थप एक विकेट लिए।

यो जितसँगै युएईले २ खेलबाट २ अंक जोडेको छ। आफ्नो पहिलो खेलमा युएई न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो। यता क्यानडाको भने यो लगातार दोस्रो हार हो। क्यानडा यसअघि दक्षिण अफ्रिकासँग ५७ रनले पराजित भएको थियो।

फागुन १, २०८२ शुक्रबार २१:५९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।