‘परान’पछि नीर शाहको नयाँ अग्निपरीक्षा : ‘कमला मिस’ले देला त बक्स अफिसमा टक्कर ?
काठमाडौं : अभिनेता नीर शाह अभिनीत ‘परान’ नेपाली बक्स अफिसमा सफल फिल्म साबित भयो। करिब १८ करोड रुपैयाँ कलेक्सन गर्दै परानले व्यावसायिक सफल फिल्मको सूचिमा आफ्नो स्थान बनायो।
फिल्ममा शाहले निर्वाह गरेको भूमिकालाई दर्शकले निकै रुचाएका छन्। शाह स्वयम् पनि फिल्मको कन्टेन र आफ्नो चरित्रप्रति सन्तुष्ट छन्। उनी आफै हिरो बन्दा दंग छन्।
‘परान’को सफलता शाहको झण्डै ५८ वर्ष लामो फिल्मी यात्राको एउटा महत्त्वपूर्ण कडी बन्यो। वि.सं. २०२४ सालमा हिरासिंह खत्री निर्देशित फिल्म ‘परिवर्तन’बाट अभिनय यात्रा सुरु गरेका शाहले हालसम्म ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, र ‘सेतो बाघ’ लगायत ३ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।
लामो समयदेखि अभिनय, निर्देशन र निर्माणमा सक्रिय शाहले आफ्नो अनुभवलाई पुनः निर्देशनतर्फ मोडेका छन्। 'परान'को व्यावसायिक सफलताको ऊर्जाबीच शाह नयाँ फिल्म ‘कमला मिस’को निर्देशन गर्दै छन्। मनोवैज्ञानिक विषयवस्तुमा आधारित यस फिल्मको शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त गर्दै छायांकन सुरु गरियो।
विजय मल्ल स्मृति प्रतिष्ठानद्वारा प्रस्तुत फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्। फिल्ममा शाहका साथै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मीको मुख्य अभिनय रहनेछ।
फिल्मको निर्माता नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन् भने कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान रहेका छन्। सागर बोहराले मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हालेका छन्।
यसअघि २०७१ सालमा शाहको निर्देशन रहेको ‘सेतो बाघ’ व्यवसायी रूपमा असफल रहेको थियो। बक्स अफिसमा परानले पाएको सफलतापछि शाहको निर्देशनमा नयाँ अनुहार राखेर बन्ने ‘कमला मिस’ कस्तो बन्ला ? सिने वृत्तमा चासोका साथ हेरिएको छ।
फागुन १, २०८२ शुक्रबार १८:०७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।