टी-२० विश्वकप : जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले हरायो

टी-२० विश्वकप : जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले हरायो

काठमाडौं : आइसीसी  टी-२० विश्वकपमा जिम्बाब्वेले उपाधि दाबेदारको रुपमा हेरिएको अष्ट्रेलियालाई २३ रनको अन्तरले पराजित गरेको छ।

सन् २००७ को विश्वकपको लिग चरणपछि जिम्बाब्वेले अष्ट्रेलियालाई यो दोस्रो पटक पराजित गरेको हो। श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमादासा स्टेडियममा शुक्रबार भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। 

जिम्बाब्वेले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १६९ रनको सम्मानजनक योगफल तयार पार्यो। १७० रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट भयो। जिम्बाब्वेको जितमा ब्लेसिङ मुजरबानीले घातक बलिङ गर्दै ४ विकेट लिए भने ब्राडली इभान्सले ३ विकेट लिए।

अष्ट्रेलियाका लागि म्याट रेनशले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। ग्लेन म्याक्सवेलले ३१ रन जोडे। अन्य प्रमुख ब्याटरहरू मार्कस स्टोइनिस ६, ट्राभिस हेड १७ र जोश इंग्लिस ८ ले राम्रो प्रदर्शन गर्न सकेनन्। टिम डेभिड र क्यामरुन ग्रिन त शून्य रनमै आउट भए।

यसअघि जिम्बाब्वेका लागि ब्रायन बेनेटले ५६ बलमा अविजित ६४ रनको योगदान दिएका थिए। यो उनको टी-२० विश्वकपमा पहिलो र समग्र टी-२० अन्तर्राष्ट्रिय करियरको ११औँ अर्धशतक हो। त्यस्तै, तादिवानाशे मारुमनी र रायन बर्लले समान ३५-३५ रन बनाए।

कप्तान सिकन्दर राजाले १३ बलमा विष्फोटक २५ रन जोड्दै टोलीको स्कोर बलियो बनाए। अष्ट्रेलियाका तर्फबाट मार्कस स्टोइनिस र क्यामरुन ग्रिनले १-१ विकेट लिए।

फागुन १, २०८२ शुक्रबार १५:१८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।