वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

दार्चुला : गत सोमबार राति घरमै मृत फेला परेकी दार्चुलाको शैल्यशिखर नगरपालिका-८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँकै एक र बैतडी घर भएका अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका अन्दाजी २३ वर्षीय उमेश साउद शैल्यशिखर नगरपालिका-८ हुन् भने २३ वर्षीया गोपाल नाथ बैतडीका भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिए। उनले पक्राउ परेका साउद ट्याक्टर चालक र नाथ निजका सहयोगी रहेको बताए। 

मृतक जोशीका छिमेकीसमेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अभियुक्तका साथबाट  लुटपाट गरिएका करिब दुई तोला बराबरका गरगहना बरामद गरिएका प्रहरी नायब उपरीक्षक महतले बताए। 

अभियुक्तमध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए। उनीहरू लागुऔषध दुर्व्यसनीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। बयानका क्रममा दुवै जनाले अभियोग स्वीकारेका र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

फागुन १, २०८२ शुक्रबार १४:५०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।