पाकिस्तान ‘ए’ सँग नेपालको महिला टोली ३० रनले पराजित

पाकिस्तान ‘ए’ सँग नेपालको महिला टोली ३० रनले पराजित

काठमाडौं : महिला एसिया कप राइजिङ स्टार्स अन्तर्गत आज बैंककमा भएको पहिलो खेलमा नेपालको महिला क्रिकेट टोली पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको छ।

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले पाकिस्तान ‘ए’ लाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रनमा रोकेको थियो। १३८ रनको विजय लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो।

सुरुवातमा नेपालले कसिलो बलिङ गर्दै पाकिस्तानलाई दबाबमा राखेको थियो। नेपालका लागि कविता कुँवरले सुरुवाती दुई विकेट (युस्रा अमिर र शावाल जुल्फिकार) लिएर उत्कृष्ट सुरुवात दिलाएकी थिइन्।

तर, मध्यक्रममा पाकिस्तानी कप्तान हाफ्सा खालिदले इनिङ्स सम्हालिन्। उनले अविजित ४० रन (३९ बल) बनाउँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याइन्। वाहिदा अख्तरले १५ बलमा २३ रनको आक्रामक योगदान गरिन् भने हुराइना सज्जादले १७ रन बनाइन्।

नेपालका बलरहरूमा कविता कुँवरले २ विकेट लिइन् भने मनिषा उपाध्याय, रिया शर्मा, सीता रानामगर र रुबिना क्षेत्रीले १-१ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात सुस्त रह्यो। बिन्दु रावलले ३९ रन (४५ बल, ८ चौका) को योगदान दिँदै एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरिन्। तर, मध्यक्रममा ब्याटिङ लाइन धर्मराउँदा नेपाल खेलमा फर्कन सकेन। 

नेपालले १० ओभरसम्म ५५ रन बनाएर १ विकेट मात्र गुमाएको थियो। तर, ११औँ देखि १४औँ ओभरको बीचमा लगातार ५ विकेट गुमाएपछि टोली दबाबमा पर्यो। पूजा महतो (११), कविता जोशी (०), रुबि पोद्दार (३) र रुबिना क्षेत्री (२) सस्तैमा आउट भए। अन्त्यतिर सीता रानामगरले अविजित १९ र कविता कुँवरले अविजित १८ रन बनाए पनि जितका लागि त्यो पर्याप्त भएन।

पाकिस्तान ‘ए’ का लागि अनोशा नासिरले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् भने मोमिना रियासतले २ र वाहिदा अख्तरले १ विकेट लिए।

फागुन १, २०८२ शुक्रबार १२:५९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।