तिनाउको भेलमा पौने २ अर्ब स्वाहा : न नदी थामियो, न जोखिम टर्यो!

तिनाउको भेलमा पौने २ अर्ब स्वाहा : न नदी थामियो, न जोखिम टर्यो!

बुटवल : बुटवलको अस्तित्वसँग जोडिएको तिनाउ नदीको सतह पछिल्लो एक दशकमा १७ मिटरसम्म गहिरिएको छ। पूर्वपश्चिम राजमार्गको तिनाउ पुलदेखि ३० किलोमिटर क्षेत्रमा नदीको प्राकृतिक बहाव क्षेत्र मिचेर गरिएका भौतिक अतिक्रमण र प्राविधिक त्रुटिका कारण नदीको सतह गहिरिँदै गएको छ।

नदी नियन्त्रण र बस्ती संरक्षणका नाममा राज्यले १६ वर्ष यता पौने दुई अर्ब बजेट खर्च गरिसक्यो। तर, प्राविधिक रूपमा गलत मानिएको ‘नदी साँघुरो पारेर गरिने तटबन्ध’का कारण राज्यको लगानी बर्सेनि वर्षाको भेलसँगै बगेर जाने मात्र होइन, प्राकृतिक विपत्तिको जोखिम पनि बढाएको छ। यता नदीको उकास क्षेत्र वर्षेनी अतिक्रमणमा परिरहेको छ।

नदी उकास क्षेत्रमा सुकुम्वासीको बहानामा छाप्रा मात्र बनेका छैनन्, ठूला पक्की घरसहितका बस्ती बसेको छ। तिनाउ किनारमा मजुवा, बुद्धनगर, दुर्गानगर, सुन्दरबस्ती, प्रगतिनगर, टप मजुवाजस्ता दर्जनौं सुकुम्वासी बस्ती छन्। नदी पेलेर बसाइएका बस्तीमध्ये बुद्धनगर अहिले शहर बनिसक्यो। अहिले नदी नियन्त्रणको काम यही बस्तीलाई जोगाउने ढंगले भइरहेको छ। 

तिनाउ र दानव नदी उकास क्षेत्रमा रहेको बस्तीलाई नियन्त्रण गर्ने भन्दै २०६६ साल असोज २० गते जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय बुटवल खुल्यो। कार्यालयको जिम्मेवारी नदी कटान, डुबान नियन्त्रण, भौतिक संरचना संरक्षण, कृषि भूमिको संरक्षण हो।

कार्यक्रम सुरु भएको १६ वर्षमा तिनाउ र दानव नदी नियन्त्रणका नाममा १ अर्ब ५७ करोड रुपैयाँ खर्च भइसक्यो। हरेक आर्थिक वर्षमा नदी नियन्त्रणका लागि बजेट छुट्याए पनि तिनाउ, दानव नदीको जोखिम र समस्या टरेको भने छैन। अनियन्त्रित बस्ती रोक्ने विषयमा ठोस सरकारी कदम चालिएको छैन।

गत आर्थिक वर्षमा मात्र तिनाउ नदीमा ७ करोड ४ लाख, दानव नदीमा १ करोड ३० लाख, कन्चन नदीमा ७२ लाख १९ हजार र रोहिणी नदी नियन्त्रणमा १ करोड ५० लाख रुपैयाँ खर्च भएको छ।

कार्यालय स्थापना हुँदा सुरुमा तिनाउ र दानव नदी नियन्त्रणका लागि कार्यक्रम सुरु भएपछि आर्थिक वर्ष ०७२/०७३ मा सालझण्डी माथिबाट बग्दै दानव नदीमा मिसिने कन्चन नदी नियन्त्रणका लागि कार्यक्रम थप भयो। त्यसपछि ०७७/७८ बाट रुपन्देहीकै रोहिणी नियन्त्रण पनि यही कार्यालयले गरिरहेको छ।

आर्थिक वर्ष ०८१/८२ मा तिनाउ, कञ्चन र रोहिणी नदी नियन्त्रणका लागि एकमुष्ट बजेट विनियोजन हुँदै आएको छ। गत आर्थिक वर्षसम्म तिनाउ, दानव, कन्चन र रोहिणी नदी नियन्त्रणका लागि कूल १ अर्ब ७६ करोड रुपैयाँ खर्च गरिएको छ। भारतीय अनुदान सहयोगमा कपिलवस्तुको बाणगंगा नदी नियन्त्रणमा हाल सम्म ४ करोड ३६ लाख रुपैयाँ खर्च गरिएको कार्यालयले जनाएको छ।

यस कार्यालयले हरेक वर्ष तिनाउ नदी नियन्त्रणका लागि तारजाली, रिटेनिङ वाल, कंक्रिट ढलान, स्लोप ढलान, त्रिखुट्टी बार, बेड वारलगायतका संरचना निर्माणका काम गर्दै आइरहेको छ। जनताको तटबन्ध कार्यक्रम कार्यालय बुटवलका सूचना अधिकारी प्रकाश लामिछाने सोचे अनुसारको काम अझै पनि हुन नसकेको बताउँछन्।

‘बजेट नै थोरै छ। त्यही बजेटबाट हामीले रुपन्देहीका चार नदीहरू नियन्त्रणका लागि खर्च गर्नुपर्छ। जति माग भएर आउँछ त्यति काम गर्न सक्दैनौं,’ उनले भने। बस्ती नियन्त्रण गर्न बर्षेनी बजेट विनियोजन भए पनि अतिक्रमित बस्ती व्यवस्थापनमा ध्यान नदिँदा समस्या समाधान हुन नसकेको हो।

तिनाउ नदीको वेग र क्षतिको विषयमा विद्यावारिधि गरेका इन्जिनियर खेटराज दाहालले सरकारले नै तिनाउ नदीलाई अतिक्रमण गर्ने र बस्ती संरक्षणमा लागेको बताउँछन्। "नदीलाई आफ्नो क्षेत्रमा बग्न दिनुपर्नेमा निश्चित क्षेत्रमा बगाउने गरी हामीले संरचना बनाइरहेका छौ। त्यसैमा राज्यले बर्षेनी करोडौँ रकम छुट्टाएर संरक्षण गरेको छ। यो भनेको बुटवलले विपत्ति कुरेर बस्नु बाहेक केही होइन," उनले भने।

उनले थपे, "नदी अतिक्रमणमा परेर साँघुरो भयो। अझ त्यसमाथि बस्ती बचाउन तारजाली लगाउने, तटबन्ध गर्ने काम गरिँदै छ। यसले दिगो नदी नियन्त्रण हुन सक्दैन।"

नदी नियन्त्रणले बस्ती बसाउन अझ बल

अहिले पनि तिनाउलाई तारजाली लगाएर बस्ती जोगाउने नाममा खुम्चाउने काम भइरहेको छ। यस कार्यलाई जारी राखिए समस्या थप जटिले हुने देखिएको छ। इन्जिनियर दाहाल नदीका दुवै किनारका घना बस्ती जोगाउने गरी तटबन्ध लगाउने कार्यले बस्ती बसाउनमै बल पुराएको बताउँछन्। 

तटबन्धन नाममा गलत तरिका अपनाउँदा अहिले ठूलो बहाबक्षेत्र भएको तिनाउ नदी नहर झैँ साँघुरिएको छ भने सतह गहिरिने र दायाँबायाँ कटानको समस्या बढेको छ। बुटवल, मिलनचोक पारिपट्टिको मजुवा बस्ती जोगाउन १८ वर्षअघि चार तपाहा नहरको किनारै किनार लाखौं खर्चेर तटबन्ध गरियो। अहिले यो तटबन्धभन्दा नदी किनार तिर बाक्लो बस्ती छ। पहिले गरेको तटबन्ध नाघेर बस्ती बसेपछि पुनः अर्को तटबन्ध गरियो।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ वडाध्यक्ष रामचन्द्र क्षत्री बगरमा बसेको बस्ती संरक्षण भन्दा पनि नदी संरक्षणमा सरकारले लगानी गरेको बताउँछन्। बुटवलको यो वडामा मात्र ४ हजार ८ सय ५१ घरधुरी सुकुम्वासी छन्।

अपेक्षाकृत छैन काम

कार्यालयले तिनाउ, दानव, कन्चन र रोहिणी नदीमा कुल १७३ दशमलव ४ किलोमिटर तटबन्ध गर्ने र त्यसका लागि १९ अर्ब २९ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। तर कार्यालय स्थापनाको १६ वर्षमा १ अर्ब ७६ करोड रुपैयाँ खर्च हुँदा ४ वटा नदीमा जम्मा २४ दशमलव २९ किलोमिटर मात्र तटबन्ध गरिएको छ।

तिनाउ नदीमा ९९ दशमलव ६१ किलोमिटरमा तटबन्ध नियन्त्रण गर्ने गरी योजना बनाएको छ। त्यसका लागि ११ अर्ब २९ करोड लागत अनुमान गरिएको छ। तर हालसम्म १० दशमलव ६७ किलोमिटर मात्र तटबन्ध गरिएको छ।

दानव नदी २७ दशमलव ५३ किलोमिटरमा नियन्त्रण गर्न ३ अर्ब २० करोड लागत अनुमान गरिए पनि हाल सम्म ५ दशमलव ६५ किलोमिटर मात्र काम भएको छ। कन्चन नदीको ३२ दशमलव ५३ किलोमिटर नदी नियन्त्रणका लागि ३ अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिए पनि हालसम्म ५ दशमलव १२ किलोमिटर मात्र तटबन्ध गरिएको छ। त्यस्तै रोहिणी नदीको १३ दशमलव ५५ किलोमिटर नियन्त्रणका लागि १ अर्ब ५ करोड रुपैयाँ लागत अनुमान गरिए पनि अहिले सम्म २ दशमलव ८५ किलोमिटरमा मात्र तटबन्धको काम भएको छ।
 
यसरी तटबन्ध र जाली लगाए पनि बर्खायाममा भने केही तटबन्धको फाउन्डेसन बाढीले खोतलेको हुन्छ। आरसिसी पर्खालले पनि ठूला बाढी आउँदा कमजोर हुने गर्दछन्। बहाबक्षेत्र अतिक्रमण गरी बसेको बस्ती नहटाएसम्म नदी नियन्त्रणको काम दिगो हुन सक्दैन। तर राजनीतिक दलहरू नदी अतिक्रमण गरेर बसेकाहरूलाई हटाउन तयार छैनन्। उनीहरूले त्यस्ता अतिक्रमित बस्तीहरूलाई आफ्नो चुनावको पकेट क्षेत्र मान्छन्।

बुटवल बजार हुँदै बगेको तिनाउले विगतमा ठूलो जनधन क्षति गरेको तथ्यांक छ। २०१८, २०२७, २०३८, २०५० सालमा आएका ठूला बाढीले धेरै क्षति गरेको त्यस बेलामा अनुभवीहरु बताउँछन्। 

रैनादेवी छहरा गाउँपालिकाको मेहल्ढाप र पूर्वखोला गाउँपालिकाको लेमढेम तिनाउ नदीको मुहान हुन। रैनादेवी छहराको मेहल्ढापबाट बग्दै आउने खोलालाई दोभान खोला भनिन्छ। यो खोलामा बाउन्ने, झेर्दि, उटुवा, कुर्वान लगायतका स-साना खोला, खोल्साहरू मिसिएका छन्।

त्यस्तैगरि, पूर्वखोलाको लेमढेमबाट आएको खोलालाई झुम्सा खोला भनिन्छ। यो खोलामा गोठादी, सिस्ने, चकाल्दी, बहुला खोला लगायतका खोल्साखोल्सीहरू मिसिएका छन्। जब दोभान खोला र झुम्सा खोला तिनाउ गाउँपालिकाको वडा नं २ र ३ नम्बरको डुमै भन्ने ठाउँमा मिसिएर तल बुटवलतिर बग्न थाल्छ अनि त्यसलाई तिनाउ नदी भनिन्छ।

त्यसपछि पूर्व पश्चिम महेन्द्र राजमार्गको तिनाउ पुल तलबाट छुट्टिएर पश्चिम जान्छ। त्यसलाई दानव नदी भनिन्छ। सालझण्डी माथिबाट आएको कन्चन नदी रुपन्देहीको गैडहवा र शुद्धोधन गाउँपालिको घाटमा दानव नदीसँग मिसिन्छ। पछि यो दानव मर्चवारमा रहेको दुई मुहानमा तिनाउ नदीसँग मिल्छ। त्यसपछि यो नदी दानव नदी बन्छ र भारतमा जान्छ। 

माघ २९, २०८२ बिहीबार १९:५६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।