कांग्रेसको ३४ बुँदे चुनावी परिपत्र : 'दुश्मनीको अखडा' नभई 'विचारको महायज्ञ' बनाउन निर्देशन
काठमाडौँ : नेपाली कांग्रेसले पार्टी भित्रको आपसी मतभेद बिर्सिएर सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउनेगरि सक्रिय हुन निर्देशिका जारी गरेको छ। आगामी निर्वाचनका लागि जारी गरेको निर्वाचन परिचालन निर्देशिका– ०८२' मा पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै र नयाँ नेतृत्वको भिजनसहित मतदातामाझ जान लक्ष्यका साथ कांग्रेसले ३४ बुँदे सहितको निर्देशिका राखेर परिपत्र जारी गरेको हो।
निर्देशिकामा कांग्रेसको केन्द्रीय समितिले पार्टी सभापति गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीको रूपमा सर्वसम्मत ढंगले अघि सारेको उल्लेख गर्दै यस निर्णयले पार्टीको पक्षमा बलियो चुनावी माहौल बनेको दाबी गरेको छ। परिपत्रमा यही उम्मेदवारीलाई मतदाताको विश्वास आर्जन गर्ने मुख्य कडी बनाउन निर्देशन दिएको छ।
'नवीन कांग्रेस' र 'भिजन १०'
कांग्रेसले यसपटक ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने नारा अघि सारेको छ। पार्टीको प्रतिज्ञा पत्रमा उल्लेखित ‘भिजन १०’ लाई डिजिटल माध्यम, सामाजिक सञ्जाल र सभाहरू मार्फत बुँदागत रूपमा मतदाता समक्ष लैजान भनिएको छ। निर्देशिकाले "जो बदलिन सक्छ, उसैले बदल्न सक्छ" भन्ने मान्यताका साथ विगतका कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
निर्वाचनलाई 'दुश्मनीको अखडा' नभई 'विचारको महायज्ञ' बनाउन कांग्रेसले जोड दिएको देखिन्छ। निर्देशिकामा प्रतिस्पर्धी दल र उम्मेदवारमाथि गालीगलौज नगर्ने, आलोचना गर्दा विषयगत र तर्कपूर्ण गर्ने, घृणास्पद र उत्तेजक अभिव्यक्ति नदिने, सार्वजनिक प्रस्तुतिमा संयम र परिपक्वता कायम राख्ने, निर्वाचन आयोगको आचारसंहिता र राष्ट्रिय झन्डाको मर्यादा पूर्ण रूपमा पालना गर्ने र बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग नगर्ने उल्लेख छ।
'५/५०' रणनीति र 'डिजिटल' अभियान
निर्वाचनलाई प्रविधिमैत्री बनाउन कांग्रेसले यसपटक 'फिजिकल' भन्दा 'डिजिटल' प्रचारमा जोड दिएको छ। संगठन परिचालनका लागि '५/५०' रणनीति बनाउँदै ५ जना क्रियाशील सदस्यको एउटा टोलीले ५० घरपरिवारसँग निरन्तर सम्पर्क र समन्वय गर्ने उल्लेख छ।
‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान अन्तर्गत फागुन १ देखि २१ गतेसम्म पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूलाई आ–आफ्नो वडा र कार्यक्षेत्रमा अनिवार्य खट्न निर्देशन दिइएको छ। "हाम्रो वडा हामी जिताउँछौँ" भन्ने उद्घोषका साथ सदस्यहरूलाई आफ्नै भूगोलमा केन्द्रित हुन भनिएको छ।
आर्थिक पारदर्शिता र सामाजिक मुद्दा
कांग्रेसले चुनावी खर्चका लागि कुनै पनि व्यवसायीलाई दबाब नदिने र 'साझा दायित्व'का आधारमा कोष खडा गरी फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको देखिन्छ। निर्वाचन सकिएको १५ दिनभित्रै आयोगमा खर्च विवरण बुझाउने प्रतिबद्धता समेत निर्देशिकामा छ।
स्थानीय मुद्दाहरूमा 'जे पनि आश्वासन दिने' प्रवृत्ति त्यागेर पूरा गर्न सकिने (फिजिबल) र लाभ हासिल हुने (भायबल) योजना मात्र अघि सार्न उम्मेदवारहरूलाई सुझाइएको छ। विदेशबाट फर्किएका युवा, अवकाश प्राप्त कर्मचारी र बुद्धिजीवीहरूको सञ्जाललाई समेत निर्वाचन परिचालनमा सक्रिय बनाउने कांग्रेसको योजना देखिन्छ।
माघ २९, २०८२ बिहीबार १८:३०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।