टी-२० विश्वकप : इटालीविरुद्ध नेपालको पहिला ब्याटिङ
काठमाडौं : आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘सी’को आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार इटालीविरुद्ध पहिला ब्याटिङ गर्दैछ।
मुम्बईस्थित वानखेडे रङ्गशालामा इटालीका कार्यवाहक कप्तान ह्यारी म्यानेन्टीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पायो।
नेपालले बिहीबारको खेलका लागि आफ्नो टोलीमा एक परिवर्तन गरेको छ। स्पिनर शेर मल्लको स्थानमा बायाँ हाते स्पिनर ललित राजवंशीलाई प्लेइङ-११ मा समावेश गरिएको छ। शेर मल्लले अघिल्लो खेलमा इङ्ल्यान्डविरुद्ध डेब्यु गर्दै पहिलो बलमै विकेट लिएका थिए।
नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।
इटालीको टोलीमा नियमित कप्तान वायन म्याडसन चोटका कारण अनुपस्थित छन्। स्कटल्यान्डविरुद्धको पहिलो खेलका क्रममा काँधमा चोट लागेपछि उनको स्थानमा म्यानेन्टीले कप्तानी सम्हालेका हुन्। इटालीको टोलीमा नेपाल प्रिमियर लिग (एनपिएल) खेलिसकेका तीव्र बलर थोमस ड्राका पनि सामेल छन्।
प्रतियोगिताको पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो भने इटालीलाई स्कटल्यान्डले ७३ रनले हराएको थियो। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र इटाली पहिलो पटक आमने-सामने हुन लागेका हुन्। यसअघि ५० ओभरका खेलमा भने नेपालले इटालीलाई तीनै पटक सजिलै पराजित गरेको थियो।
माघ २९, २०८२ बिहीबार १५:२९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।