‘चिनियाँ लामा’लाई हटाउने गुठी संस्थानको निर्णय निर्वाचन आयोगद्वारा बदर, पुनर्वहाली गर्न आदेश
काठमाडौं : निर्वाचन आयोगले बौद्ध तथा मेलम्ची घ्याङ गुठीका औतारी धर्मगुरु (चिनियाँ लामा) भुपति बज्र लामालाई पदबाट हटाउने गुठी संस्थानको निर्णय बदर गरिदिएको छ।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा गरिएको उक्त निर्णयलाई ‘विवादास्पद र कानुन प्रतिकूल’ ठहर गर्दै आयोगले लामालाई साविककै पदमा पुनर्वहाली गर्न निर्देशन दिएको हो।
आयोगले गुठी संस्थानलाई पत्र काट्दै लामालाई बहाली गरी सोको जानकारी माघ २७ गतेभित्र दिन आदेश दिएको छ।
गुठी संस्थानको गत माघ ९ गते बसेको बैठकले भुपति बज्र लामालाई पदमुक्त गर्ने निर्णय गरेको थियो।
लामामाथि गुठी जग्गाको संरक्षण नगरेको, गुम्बाको उचित व्यवस्थापन नगरेको तथा गुम्बामा नबसेको, पदीय आचरणविपरीत काम गरेको र नियुक्तिका लागि तत्कालीन मन्त्रीलाई मोटो रकम घुस बुझाएको आरोप छ।
मन्त्री इङ्नामले सार्वजनिक रूपमै चिनियाँ लामा बन्नका लागि वर्तमान लामाले एमालेका नेता एवं पूर्वमन्त्री बलराम अधिकारीलाई ५ करोड रुपैयाँ घुस बुझाएको उजुरी आफूकहाँ आएको बताएका थिए।
यसबाहेक, लामासँग नेपाल र हङकङ दुवै देशको यात्रा अनुमति पत्र रहेको र बौद्ध स्तूपमा पूजा गर्न आउने भक्तजनसँग ५-१० हजार रुपैयाँसम्म अवैध असुली गर्ने गरेको आरोप समेत गुठी संस्थानले लगाएको थियो।
लामाले भने आफूमाथि लागेका यी सबै आरोपहरू ‘अपुष्ट र लाञ्छनापूर्ण’ रहेको भन्दै स्पष्टीकरण दिएका थिए।
निर्वाचन आयोगले माघ २५ गते गरेको निर्णयानुसार, निर्वाचन आचारसंहिता सक्रिय रहेको समयमा दीर्घकालीन असर पर्ने यस्ता नियुक्ति वा बर्खास्तीका निर्णय गर्न पाइँदैन।
गुठी संस्थानले माघ ९ गते गरेको निर्णय तथ्यपरक र न्यायसंगत नभएको तथा यसले निर्वाचनको स्वच्छता र निष्पक्षताको सिद्धान्त उल्लंघन गरेको आयोगको ठहर छ।
बौद्धनाथस्थित धार्मिक गुरुलाई ‘चिनियाँ लामा’ सम्बोधन गरिन्छ। यो पदमा नियुक्ति र बर्खास्ती भूमि व्यवस्था मन्त्रालय मातहतको गुठी संस्थानले गर्ने अभ्यास छ।
आयोगको यो पछिल्लो निर्देशनपछि विवादित बनेका चिनियाँ लामा भुपति बज्र लामा पुनः आफ्नो जिम्मेवारीमा फर्कने बाटो खुलेको छ।
माघ २९, २०८२ बिहीबार १४:३१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।