‘बेथिति संस्थागत भयो, अन्धभक्त हुन सकिनँ’ भन्दै डा. प्रणय राणाद्वारा रास्वपा परित्याग
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. प्रणय शमशेर राणाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन्।
पार्टीभित्र आन्तरिक लोकतन्त्रको हत्या भएको र आर्थिक अपारदर्शिता बढेको आरोप लगाउँदै उनले मंगलबार महामन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्।
२०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रास्वपाको उम्मेदवार बनेका राणाले पछिल्लो समय पार्टी नेतृत्वले विधि र विधान लत्याएको भन्दै चर्को असन्तुष्टि जनाउँदै आएका थिए।
राणाले राजीनामा पत्रमा पार्टीभित्रको आर्थिक पाटोमा गम्भीर प्रश्न उठाएका छन्। उनले पार्टी सदस्यता शुल्क बापत उठाइएको १ हजार रुपैयाँमध्ये ३ सय रुपैयाँ पालिकामा पठाउने भनिए पनि सो रकम कहिल्यै नआएको उल्लेख गरेका छन्।
उनले पत्रमा लेखेका छन्, ‘सदस्यता शुल्कबाट रु ३०० पालिकामा आउने भनेको कहिले आएन, प्राइमरीका प्रक्रिया मात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता र अपचलन देखियो।’
सैन्य पृष्ठभूमि भएका राणाले उम्मेदवार बन्नका लागि आफूले बुझाएको २५ हजार रुपैयाँ आवेदन शुल्क फिर्ता माग्दै टिकट नपाउने अन्य आकांक्षीहरूको रकम पनि फिर्ता गर्न नेतृत्वसँग माग गरेका छन्।
पार्टी स्थापना कालमा गरिएको ‘बेथितिको अन्त्य र थितिको थालनी’ भन्ने वाचा अहिले ठीक उल्टो भएको राणाको निष्कर्ष छ। उनले नेतृत्वलाई व्यंग्य गर्दै अहिले पार्टीमा ‘थितिको अन्त्य र बेथितिको थालनी’ भएको आरोप लगाएका छन्।
‘केन्द्रमा बसेका पदाधिकारी तथा केन्द्रीय सदस्य अधिकांश यो बेथितिको साझेदार छन् भने अन्य गरिब तवरले मौन छन्,’ राणाले राजीनामा पत्रमा भनेका छन्, ‘सीमित केही बोल्ने साथीहरूको हविगत आम नेपालीलाई थाहा भइसकेको छ।’
राणाले पार्टी नेतृत्वले आफ्नो अनुकूल संगठन र संरचना बनाउन विधान संशोधन गरेको आरोप लगाएका छन्।
लोकतान्त्रिक पद्धतिबाट बनेको निर्वाचन क्षेत्रलाई हटाउने विधान बनाउने प्रयास भएको र त्यो नसकेपछि सांसद भएको ठाउँमा क्षेत्रीय सभापति उही हुने विधान बनाइएको भन्दै उनले आपत्ति जनाएका छन्।
राष्ट्रिय भेला र केन्द्रीय समितिको विस्तारित बैठकलाई उनले ‘लोकतान्त्रिक प्रक्रिया अनुरूप नगरिएको’ टिप्पणी गरेका छन्।
उनले केन्द्रीय समितिलाई सीमित गरेर ‘केन्द्रीय सचिवालय’ बाट सबै निर्णय गराउन थालिएको र प्राइमरी चुनावमा सधैँ ५० प्रतिशत चलखेलको बाटो राखिएको बताएका छन्।
राणाले ‘विशेष परिस्थिति’ को नाममा संगठनको नेतृत्व छान्ने अधिकार लुटिएको र भविष्यमा सरकारमा गएर पार्टीले राम्रो काम गर्छ भन्ने विश्वास गुमेको बताएका छन्।
पत्रको अन्त्यमा उनले लेखेका छन्, ‘आफ्नो आन्तरिक अभ्यास सही ढङ्गले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास म गर्न सक्दिनँ र अन्धभक्ति गर्न पनि चाहन्न। यी सबै बेथितिका बाबजुद मूकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको छु।’
माघ २९, २०८२ बिहीबार ११:५८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।