भरतपूरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु ५ जना घाइते
चितवन : चितवनका भिन्न दुई स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका-१५ मा आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाका २६ वर्षीय सुरज थापाको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार २२ वर्षीया निरुता थापा गम्भीर घाइते भएकी छन्। थापाकाे चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार टुरेचोकबाट शीतलचोकतर्फ आइरहेकाे मिनीट्रकले रामपुरबाट भरतपुरतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे।
दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी जारी छ ।
यसैगरी, स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा अटोरिक्सामा सवार माडी नगरपालिका-७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारि दिए।
गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको हो। घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
माघ २९, २०८२ बिहीबार १०:५४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।