बिहेको बाचा तोडिएपछि पूर्वप्रेमिकालाई ‘तेरो रेट कति?’ भन्दै म्यासेज, अर्धनग्न तस्बिर भाइरल गर्ने धम्की
काठमाडौं : प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालको दुरुपयोग गरी पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा एक युवकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१०, आदर्शनगरमा ‘रेड एण्ड टेलर’ सञ्चालन गरी बस्ने २९ वर्षीय सद्दाम अलि विरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरेको हो। उनीविरुद्ध माघ २८ गते काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको हो।
अभियोग पत्रमा उल्लेखित विवरण अनुसार, पीडित महिला र प्रतिवादी सद्दाम अलिबीच विगत तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो। पीडित महिला विवाहित भए पनि श्रीमान्सँग सम्बन्ध विच्छेद गरी एक्लै बस्दै आएकी थिइन्।
केही समय अगाडिदेखि उनीहरूबीच मनमुटाव सुरू भएको थियो। पीडित महिलाले सद्दामसँगको सम्बन्ध टाढा बनाउँदै गएपछि र सम्पर्क विच्छेद गरेपछि सद्दामले प्रतिशोध साँध्न सामाजिक सञ्जालको प्रयोग गरेको अभियोग पत्रमा उल्लेख छ।
सद्दामले ‘किङ अफ रोयल मुस्लिम’ नामको फेक टिकटक आईडी र ह्वाट्सएप प्रयोग गरी पीडितको चरित्र हत्या गर्ने किसिमका सामग्रीहरू पठाएका थिए। उनले पीडितको टिकटक भिडियोको कमेन्टमा तथा ह्वाट्सएपमा अत्यन्तै अश्लील, अपशब्द र अपमानजनक सन्देशहरू पठाएका थिए। अहिले उनको उक्त टिकटक आइडी बन्द भइसकेको छ।
अभियोग पत्रका अनुसार, सद्दामले पीडितलाई उनको अर्धनग्न तस्बिर समेत पठाएर मानसिक यातना दिएका थिए। उनले पीडितलाई ‘तेरो रेट कति हो?’, ‘१० हजार हो?’ जस्ता अमर्यादित र अश्लील शब्दहरू प्रयोग गरी बेइज्जत गरेको पाइएको छ।
पीडितले दिएको जाहेरीको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान सुरू गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले सद्दाम अलिलाई पक्राउ गरी उनको साथबाट सामसुङ ग्यालेक्सी एस २४ लगायतका मोबाइल सेटहरू बरामद गरेको थियो।
प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा गरिएको परीक्षणमा सद्दामको मोबाइलमा उक्त फेक टिकटक आईडी लग-इन भएको अवस्थामा भेटिएको थियो। साथै, मोबाइलको ग्यालरीमा पीडितको टिकटक आईडीका स्क्रिनसटहरू समेत फेला परेका थिए, जसले उनीविरुद्धको प्रमाणलाई पुष्टि गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
‘रिसको झोंकमा गल्ती भयो’
अदालतमा पेश गरिएको बयानमा प्रतिवादी सद्दाम अलिले आफ्नो कसुर स्वीकार गरेका छन्।
उनले बयानमा भनेका छन्, ‘हामी सहमतिमा विवाह गर्नेसम्मको कुराकानी भएको थियो। तर पछि उनले मसँगको सम्बन्ध छोडेर अर्कै केटी साथीसँग बस्ने र हिँड्ने गर्न थालिन्। मैले सम्झाउँदा उल्टै झगडा गरिन् र मेरो मोबाइल नम्बर ब्लक गरिन्।’
सद्दामले रिसको आवेगमा आएर फेक आईडी बनाई गालीगलौज र चरित्र हत्या गर्ने म्यासेजहरू पठाएको स्वीकार गरेका छन्। उनले सम्बन्ध बिग्रिएपछि सम्पर्क गर्ने अन्य कुनै माध्यम नभएपछि सामाजिक सञ्जालमार्फत आक्रोश पोखेको बताएका छन्।
सरकारी वकिलको कार्यालयले सद्दाम अलि विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको अभियोग लगाएको छ।
दफा ४७ (१) ले कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू, सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्री, वा कसैप्रति घृणा वा द्वेष फैलाउने, वा महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्न निषेध गरेको छ।
यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
अभियोग पत्रमा प्रतिवादीलाई हदैसम्मको सजायका साथै पीडितलाई पुगेको मानसिक र सामाजिक क्षति बापत मनासिब क्षतिपूर्ति भराई दिन समेत माग गरिएको छ।
माघ २९, २०८२ बिहीबार १०:०६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।