पुस मसान्तसम्म नेपाल टेलिकमको खुद नाफा ४ अर्ब १६ करोड

पुस मसान्तसम्म नेपाल टेलिकमको खुद नाफा ४ अर्ब १६ करोड

काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार टेलिकमको मुख्य सञ्चालन आम्दानीमा सामान्य सुधार देखिए पनि खुद नाफामा भने करिब १३ प्रतिशतले गिरावट आएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब १६ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको (४ अर्ब ७८ करोड ५९ लाख) तुलनामा १२.९८ प्रतिशतले कम हो। कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ २७ पैसा कायम भएको छ।

टेलिकमको सेवा बिक्रीबाट हुने कुल सञ्चालन आय भने १.७३ प्रतिशतले बढेको छ।

गत वर्ष १७ अर्ब ४९ लाख रहेको सञ्चालन आय यस वर्ष बढेर १७ अर्ब २९ करोड ९७ लाख पुगेको छ। यद्यपि, बैंक ब्याज लगायतका अन्य स्रोतसहितको कुल आम्दानी भने १.५ प्रतिशतले घटेर १९ अर्ब २२ करोडमा सीमित भएको छ।

टेलिकमले नाफामा गिरावट आउनुमा भाइबर, वाट्स्एप जस्ता ओटीटी एपहरूको बढ्दो प्रयोगले अन्तरआवद्धता र भ्वाइस/एसएमएस सेवाको आम्दानीमा नकारात्मक असर परेको जनाएको छ।

साथै बैंक ब्याजदर घटेका कारण कम्पनीको ब्याज आम्दानी गत वर्षको तुलनामा ३२ प्रतिशतले घटेको छ भने कर्मचारीको बीमांक रकम वृद्धि र पेन्सन योजनाको दायित्व गणनामा डिस्काउन्ट रेट परिवर्तन हुँदा कर्मचारी खर्च ११.५ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

यसका अलावा दुर्गम तथा विकट स्थानहरूमा सेवा विस्तार गर्दा लागत बढी लाग्ने तर प्रतिफल कम आउने गरेको समेत नाफा घट्नुको कारणमा उल्लेख गरेको छ।

कम्पनीले विदेशी मुद्रा सटहीबाट हुने नाफामा भने १५० प्रतिशतले वृद्धि भएको जनाएको छ।

माघ २९, २०८२ बिहीबार ०९:३१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।