शेख हसिनाको दललाई प्रतिबन्धपछि बंगलादेशमा आज आम निर्वाचन, १२ करोड बढी मतदाताले चुन्दैछन् नयाँ सरकार
एजेन्सी : बंगलादेशमा नयाँ सरकार चयनका लागि बिहीबार मतदान भइरहेको छ।
१२ करोडभन्दा बढी मतदाता सहभागी हुने यो निर्वाचनका लागि देशभर मतदान सुरु भइसकेको छ। मतदान प्रक्रिया स्थानीय समय अनुसार साँझ ४:३० बजेसम्म चल्नेछ।
सन् २०२४ मा भएको ठूलो जनआन्दोलनपछि बंगलादेशमा यो पहिलो पटक चुनाव हुन लागेको हो। युवाहरूको नेतृत्वमा भएको सोही आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो।
हसिनाले देश छोडेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले देशको शासन सत्ता सम्हालिरहेको थियो।
उक्त आन्दोलनका क्रममा कम्तीमा १ हजार ४०० जना प्रदर्शनकारीको मृत्यु भएको थियो। शेख हसिनामाथि प्रदर्शनकारीहरू विरुद्ध कडा कारबाहीको आदेश दिएको आरोप छ, यद्यपि उनले यी आरोपहरू अस्वीकार गर्दै आएकी छन्।
मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै बंगलादेशको एक अदालतले गत वर्ष नोभेम्बरमा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। यस चुनावमा उनको पार्टी अवामी लिगलाई भाग लिन प्रतिबन्ध लगाइएको छ।
अवामी लिगमाथि प्रतिबन्ध लागेपछि यस चुनावमा मुख्य प्रतिस्पर्धा ‘बंगलादेश नेसनलिस्ट पार्टी’ र इस्लामिक दल ‘जमात-ए-इस्लामी’ बीच हुने देखिएको छ। जमात-ए-इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको नयाँ दलसँग गठबन्धन गरेको छ।
यस पटक मतदाताहरूले नयाँ सरकार चयन गर्नका साथै संविधान संशोधनका विषयमा हुने जनमत संग्रहमा पनि मतदान गरिरहेका छन्।
माघ २९, २०८२ बिहीबार ०८:०७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।