राजश्व चुहावटमा मेयर थापासहित १३ जनाविरुद्ध ५८ करोडको मुद्दा दायर

राजश्व चुहावटमा मेयर थापासहित १३ जनाविरुद्ध ५८ करोडको मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरत कुमार थापासहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सागरनाथ वन विकास परियोजनाको जग्गामा अनधिकृत रूपमा भरत ताल (बहुउद्देश्यीय माछा पोखरी) निर्माण गर्दा राज्यलाई ठुलो आर्थिक नोक्सानी पुर्याएको ठहर गर्दै आयोगले बुधवार आरोपपत्र दायर गरेको हो।

नगरपालिकाले वन क्षेत्रमा कानुन विपरीत पोखरी निर्माण गर्ने क्रममा वन पैदावारको दुरुपयोग गरेको र वातावरणीय प्रभाव मूल्याङ्कनको समेत पालना नगरेको भन्दै आयोगले यस प्रकरणमा ५८ करोड ६२ लाख १४ हजार बराबरको बिगो दाबी गरेको छ।

को-को परे कारबाहीको दायरामा?

भ्रष्टाचार मुद्दामा जनप्रतिनिधि र कर्मचारीसहित १३ जनालाई प्रतिवादी बनाइएको छ। नगरपालिका तर्फ नगर प्रमुख भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेल प्रतिवादी बनेका छन्।

सागरनाथ वन विकास परियोजना तर्फ तत्कालीन प्रमुख विशाल घिमिरे, तत्कालीन निमित्त प्रमुखहरू देवेशमणि त्रिपाठी, प्रेमीलाल प्रसाद कलवार, राम किशोर यादव र जितेन्द्र कर्माचार्य प्रतिवादी बनेका छन्। यसैगरि तत्कालीन सहायक वन अधिकृतहरू चन्द्रकुमारी श्रेष्ठ, शिवेन्द्र प्रसाद चौधरी र भोला यादव प्रतिवादी बनेका छन्।

अख्तियारको अभियोग पत्रमा बागमती नगरपालिकाको वडा नम्बर ४ र १२ मा पर्ने करिब १५० बिघा वन क्षेत्रलाई जबर्जस्ती प्रयोग गरी पोखरी खनिएको थियो।

"नगरपालिकाले वन क्षेत्रलाई आफ्नो क्षेत्राधिकार भन्दै ४७,००,२८५ घनमिटर वन पैदावारको रोयल्टी नबुझाई राजस्व चुहावट गरेको छ। यसमा परियोजनाका कर्मचारीहरूले पनि कानुनी कारबाही गर्नुको साटो मूकदर्शक बनेर मिलेमतो गरेको देखिन्छ," आयोगको आरोप पत्रमा उल्लेख छ।

सोही अनुसार आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बराबरको रकम असुल गरी सोही बराबरको थप जरिवाना र कैद सजायको माग गरेको छ। साथै, राजस्व चुहावटको कसुरमा थप सजायको समेत मागदाबी गरेको छ।

थापाविरुद्ध यस अगाडि चारवटा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ। भरत ताल निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले उनलाई ८ वर्ष कैद र १० करोड जरिवाना गरिसकेको छ। सम्पत्ति शुद्धीकरणमा समेत उनी दोषी ठहर भइसकेका छन्।

मेयरको रूपमा थापाले गरेको भ्रष्टाचारबारे उकेराले निरन्तर प्रमाणसहित समाचार प्रकाशित गर्दै आएको छ।

सम्बन्धित समाचार

माघ २८, २०८२ बुधबार २०:०९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।