काठमाडौंको मूलपानीमा ट्याङ्करकाे ठक्करबाट एक महिलाको मृत्यु
काठमाडाैं : काठमाडौंकाे मूलपानी पुलमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मङ्गलबार कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित पुलमा ट्याङ्करले ठक्कर दिँदा ४६ वर्षीया रोशना दुवाल गम्भीर घाइते भएकी थीइन्। घाइते दुवालकाे उपचारका क्रममा आज मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए।
उनका अनुसार मूलपानीबाट दुवाकोटतर्फ जाँदै गरेको बा३ख ३९५४ नम्बरको ट्याङ्करले ठक्कर दिँदा घाइते भएकी रोशनाकाे उपचारको क्रममा मृत्यु भएको हो।
दुवाल बागमती प्रदेश-०२-०४३ प २७२६ नम्बरको स्कुटरमा पछाडि सवार थिइन्। करिब २३ वर्षीया निलिसा दुवालले चलाएको स्कुटर बोडेबाट मूलपानीतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ।
ट्याङ्कर चालक नुवाकोटको दुप्चेश्वर घर भएका २३ वर्षीय महाविर तामाङलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताए।
माघ २८, २०८२ बुधबार १६:४८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।