अन्तिम ओभरमा रबाडाले दुई नो बल दिँदा सुपर ओभरमा पुग्यो दक्षिण अफ्रिका-अफगानिस्तानको खेल

अन्तिम ओभरमा रबाडाले दुई नो बल दिँदा सुपर ओभरमा पुग्यो दक्षिण अफ्रिका-अफगानिस्तानको खेल

एजेन्सी : अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जारी विश्वकपको १३औं खेल सुपर ओभरमा गएको छ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीचको रोमाञ्चक भिडन्त बराबरीमा सकिएपछि अब यसको नतिजा जारी विश्वकपको पहिलो सुपर ओभरबाट हुने भएको छ।

१८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले अन्तिम ओभरमा जुन किसिमको नाटकीय मोड लियो, त्यसले मैदानमा रहेका सबैलाई स्तब्ध बनायो।

अन्तिम ओभरको त्यो ड्रामा
जितका लागि ६ बलमा १३ रन चाहिएको थियो। बलिङमा दक्षिण अफ्रिकाका मुख्य हतियार कागिसो रबाडा थिए भने स्ट्राइकमा नुर अहमद।

रबाडाले पहिलो बलमै नुरलाई क्याच आउट गराएका थिए, दक्षिण अफ्रिकी टोली उत्सव मनाउन थालिसकेको थियो। तर, साइरन बज्यो-त्यो नो-बल थियो! अफगानिस्तानले जीवनदान मात्र पाएन, 'फ्री-हिट' पनि पायो।

रबाडाले त्यसपछि एउटा वाइड फाले। अर्को बलमा मार्को यानसनले नुर अहमदको एउटा सजिलो क्याच छोडे। रन भने आएन। आधिकारिक दोस्रो बलमा नुर अहमदले रबाडाको सर्ट बललाई मिड-विकेट माथिबाट गज्जबको छक्का प्रहार गरे। अब खेल पूरै अफगानिस्तानको हातमा पुग्यो।

तेस्रो बलमा नुरले सट खेले तर रन लिन अस्वीकार गरे। फारुकी क्रिजको आधा बाटो पुगेर फर्किए। त्यसपछिको बलमा रबाडाले फेरि अर्को नो-बल फाले र ब्याटरहरूले दौडेर २ रन जोडे। अब ३ बलमा मात्र २ रन चाहिएको थियो।

आधिकारित चौथो बलमा अर्को बलमा नुर अहमदले लङ-अफमा प्रहार गरेर दोस्रो रन लिन खोज्दा फजलहक फारुकी रन आउट भए। स्कोर १८७/१८७ मा बराबर भयो र अफगानिस्तान अल-आउट भयो।

दक्षिण अफ्रिकाले एक समय हारिसकेको यो खेल रबाडाको अन्तिम ओभरको रन-आउटका कारण सुपर ओभरसम्म पुर्याउन सफल भएको छ।

माघ २८, २०८२ बुधबार १४:५६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।