रास्वपाको चुनावी प्रचारमा झन्डा बोकेर विद्यालय पोशाकमै बालबालिका!
सर्लाही : ‘जान्नेलाई छान्ने’ र ‘संस्कारको राजनीति’ गर्ने नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा स्कुले बालबालिकाको प्रयोग भएको पाइएको छ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को सर्लाही भ्रमणका क्रममा स्वागतका लागि विद्यालयको पोसाकमै रहेका विद्यार्थीहरूलाई र्यालीमा सहभागी गराइएको हो।
मंगलबार बर्दिबास हुँदै सर्लाही प्रवेश गरेका बालेनको स्वागतमा लालबन्दी, हरिवन हुँदै सदरमुकाम मलंगवा पुग्दा स्थानीयको बाक्लो उपस्थिति थियो। तर, उक्त भीडमा विद्यालयका साना विद्यार्थीहरू समेत उपस्थित थिए।
विद्यालयको निलो रङको पोसाकमा रहेका नाबालक विद्यार्थीहरूको हातमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ अंकित झन्डा बोकेको तस्बिरमा स्पष्ट देख्न सकिन्छ।
बालेनको टोली मलंगवाबाट कोडैना हुँदै सर्लाही क्षेत्र नम्बर ४ र त्यहाँबाट बरहथवा हुँदै बागमतीतर्फ लाग्दा बाटोमा समेत विद्यार्थीहरूको लर्को देखिएको थियो।
निर्वाचन आयोगको आचारसंहिता र बाल अधिकार सम्बन्धी कानुनले राजनीतिक कार्यक्रम, सभा, जुलुस वा र्यालीमा बालबालिकाको प्रयोगलाई पूर्ण रूपमा निषेध गरेको छ।
विद्यालयलाई शान्ति क्षेत्र मानिन्छ, तर नयाँ राजनीतिको दाबी गर्ने रास्वपाको कार्यक्रममै यसरी खुलेआम बालबालिकाको प्रयोग भएका छन्।
माघ २८, २०८२ बुधबार १२:०९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।