मकवानपुरमा निर्माणाधीन फास्ट ट्र्याकमा मेसिन दुर्घटना : एक जनाको मृत्यु, एक घाइते
हेटौंडा : मकवानपुरमा निर्माणाधीन फास्ट ट्र्याकमा मेसिन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
उक्त दुर्घटनामा सिन्धुपाल्चोककाे पाँचपोखरी थाङपाल गाउँपालिका–५ का २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको हाे।
मंगलबार साँझ करिब ६ बजे खाडल खन्ने कार्य सकेर टुचन मेसिनमा सवार भई माथि आउने क्रममा एक्कासी ब्रेक फेल भई करिब २१ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिआइजी पुष्कर बौटीले जानकारी दिए।
माथिबाट खसेको टुचन मेसिनको चोट लागि खाडलभित्र काम गरीरहेका पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ३७ वर्षीय जुल्फे तामाङ घाइते भएको डिआइजी बौटीले जानकारी दिए। घाइते तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको र उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
भीमफेदी गाउँपालिका-८ महादेवटार छोक्रेडाँडास्थित निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत पुल नम्बर १ मा टुचन मेसिन दुर्घटना भएकाे हाे।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक राजन थापाको कमाण्डमा प्रहरी टोली खटिई घटनास्थल पुगेर आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ।
घटनास्थल सुरक्षित राखिएको तथा कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अगाडि बढाइने डिआइजी बौटीले बताए ।
माघ २८, २०८२ बुधबार १२:०५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।