रामेछाप बस दुर्घटना : बसका प्रतिनिधि सम्पर्कमा नआउँदा मृतकको पोष्टमार्टम हुन सकेन

रामेछाप बस दुर्घटना : बसका प्रतिनिधि सम्पर्कमा नआउँदा मृतकको पोष्टमार्टम हुन सकेन

रामेछाप : रामेछापस्थित तामाकाेशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन।

बसको सञ्चालक अरनिको यातायात प्रालिका प्रतिनिधि सम्पर्कमा  नआउँदा पीडित परिवारको माग सम्बोधन हुन नसकेको कारण पोष्टमार्टमको काम अघि बढ्न नसकेको हो।

‘समितिका मान्छे सम्पर्कमा आएका छैनन्, कम्तीमा उनीहरूले मृतक र घाइतेको परिवारलाई के कस्तो सहयोग गर्न सक्ने भन्ने कुरा प्रष्ट भनिदिए थप प्रक्रिया अघि बढ्ने थियो’, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले भने।

पीडितका आफन्तहरूसँग मंगलबार राति अबेरसम्म स्थानीय प्रशासनले छलफल गरेको थियो। स्थानीयले यातायात प्रालिका प्रतिनिधि अनुपस्थित हुँदासम्म विषय नटुङ्गिने अडान राखेपछि वार्ता त्यतिकै टुङ्गिएको थियो।

कम्पनीका अधिकारीहरू नआएका कारण आज पनि थप छलफल अघि बढ्न सकेको छैन। मृतकका आफन्तहरू मन्थली बजारमा अलपत्र अवस्थामा छन्।

दुर्घटनामा ज्यान गुमाएका १२ मध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ भने ४ वटा शव रामेछाप अस्पतालमा राखिएको छ।

काठमाडौंबाट रामेछापको मन्थली हुँदै ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौंमा उपचार भइरहेको छ भने सामान्य घाइते चालकलाई प्रहरीले उपचारपछि नियन्त्रणमा लिएको छ ।

माघ २८, २०८२ बुधबार ११:०३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।