अमेरिकामाथि पाकिस्तानको शानदार जित, साहिबजादा फरानले बनाएर ७३ रन

अमेरिकामाथि पाकिस्तानको शानदार जित, साहिबजादा फरानले बनाएर ७३ रन

एजेन्सी : पाकिस्तानले टी-२० विश्वकपमा अमेरिकामाथि शानदार जित हात पारेको छ।

प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध संघर्षपूर्ण जित निकालेको पाकिस्तानले अमेरिकाविरुद्ध भने सहज नतिजा निकाल्दै लगातार दोस्रो जित दर्ता गरायो।

कोलम्बोको पिचमा स्पिनरहरू हाबी भएको खेलमा पाकिस्तानले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्यो।

सुरुवातमा साहिबजादा फरहानले ४१ बलमा ७३ रनको उत्कृष्ट पारी खेल्दै पाकिस्तानलाई बलियो आधार खडा गरिदिए। उनले सैम अय्युब र बाबर आजमसँग क्रमशः ५४ र ८१ रनको साझेदारी गरे। कप्तान बाबर आजमले ४६ रनको योगदान दिए।

इनिङ्सको अन्त्यतिर छैटौं नम्बरमा आएका सादाब खानले आक्रामक ब्याटिङ गरे। उनले मात्र १२ बलमा ३० रन प्रहार गरेपछि पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनायो। यो सन् २०१६ यता टी-२० विश्वकपमा पाकिस्तानले बनाएको सर्वाधिक स्कोर हो।

अमेरिकाका बलर साड्ले भान स्कल्कविकले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए पनि अन्य बलरहरूले रन रोक्न सकेनन्।

१९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले सुरुवाती चरणमा राम्रो ब्याटिङ गरे पनि मध्यक्रममा पाकिस्तानी स्पिनरहरूसामु निरीह बन्यो। अमेरिकाका लागि शयान जहागिरले ३४ बलमा ४९ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए।

तर, पाकिस्तानका ५ जना स्पिनरहरूले खेललाई नियन्त्रणमा लिए। उनीहरूले १६ ओभर बलिङ गर्दै ११५ रन दिएर ७ विकेट लिए।

अमेरिकाका शुभम रञ्जानेले अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। सादाब खानले बलिङतर्फ पनि २६ रन दिएर २ विकेट लिए।

जितसँगै समूह ‘ए’ मा दुई खेलबाट दुई जित निकाल्दै पाकिस्तान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब पाकिस्तानले आफ्नो अर्को खेल आइतबार चिरप्रतिद्वन्द्वी भारतसँग खेल्नेछ।

माघ २८, २०८२ बुधबार ०८:११:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।