निश्चललाई दर्शकको प्रतिक्रिया- ‘दिमाग खराब होइन, खराब त सिस्टम रहेछ’

निश्चललाई दर्शकको प्रतिक्रिया- ‘दिमाग खराब होइन, खराब त सिस्टम रहेछ’

काठमाडौं : करिब एक दशकअघि नेपाली फिल्म क्षेत्र सुस्ताइरहेको बेला निर्देशक निश्चल बस्नेतले ‘लुट’मार्फत दर्शकलाई हलसम्म फर्काए। व्यावसायिक रूपमा सफल ‘लुट’ले निर्माण पक्षलाई मात्र नभई बस्नेत र त्यसमा आबद्ध कलाकारहरूलाई पनि पहिचान दिलायो।

त्यसयता निश्चलले पछाडि फर्केर हेर्नु परेको छैन। राजनीतिक तथा सामाजिक कथावस्तुमा हास्य रस मिसाउन खप्पिस बस्नेतले ‘टलकजंग भर्सेस टुल्के’को निर्देशन र ‘कबड्डी’ लगायतका फिल्ममा अभिनय गरेर आफूलाई बहुआयामिक ढंगले प्रस्तुत गरे।

निश्चल पर्दाभित्र मात्र सीमित रहेनन्, उनी सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूबाट राजनीतिक विसंगति विरुद्ध आवाज उठाउन थाले। नयाँ राजनीतिक शक्ति र स्वतन्त्र जनप्रतिनिधिहरूलाई समर्थन गरेको विषयमा उनी कहिले प्रशंसित त कहिले आलोचित पनि भए। विशेषगरी जेनजी आन्दोलन र काठमाडौं महानगरका पूर्व प्रमुख वालेन्द्र शाह 'बालेन'को समर्थन गर्दा उनी बढी आलोचित बने।

यति बेला मुलुकमा चुनावी सरगर्मी बढिरहेको बेलामा उनले दुई वर्षअघि प्रदर्शन भएको फिल्म ‘दिमाग खराब’ युट्युबमा सार्वजनिक गरे। राजनीतिक भ्रष्टाचार र गरिब नागरिकको भोगाइ समेटिएको यो फिल्म युटुबमा आएपछि दर्शकले यसलाई वर्तमान राजनीतिक परिस्थितिसँग जोडेर हेर्न थालेका छन्। कतिपयले निश्चलले फिल्मको कथावस्तुमार्फत वर्तमान समयको भविष्यवाणी गरेको भन्दै तारिफ गरेका छन्। युट्युबमा रिलिज भएको छोटो समयमै फिल्मले लाखौं भ्युज र हजारौं सकारात्मक प्रतिक्रिया बटुलेको छ।

फिल्म हेरेका अमृत आरम्भले प्रतिक्रिया दिँदै लेखेका छन्, “होइन, निश्चल बस्नेतले ज्यू? यो फिल्म बनाउने बेलामा भविष्यवाणी गरेर बनाउनुभएको हो कि क्या हो ? अहिलेको माहोलसँग त ठ्याक्कै मिल्छ त?” त्यसै गरी अर्का दर्शक दीपक सापकोटाले फिल्मले ‘दिमाग खराब’ होइन, ‘सिस्टम खराब’ रहेको कडा सन्देश दिएको प्रतिक्रिया जनाए।

युट्युबका हजारौं प्रतिक्रियाहरू नियाल्दा अधिकांश दर्शकले निर्देशक निश्चल बस्नेतको भिजन र निर्देशनको खुलेर प्रशंसा गरेका छन्। तर, फिल्ममा मुख्य भूमिका निर्वाह गरेका कलाकारहरूको बारेमा भने चर्चा न्यून देखियो। थोरै दर्शकले मात्र दयाहाङ राई, स्वस्तिमा खड्का र खगेन्द्र लामिछाने जस्ता स्थापित कलाकारहरूको अभिनयको चर्चा गरे।

समीर सुनार नामका एक प्रयोगकर्ताले कलाकारहरूको नामै लिएर उनीहरूको अभिनयको प्रशंसा गरेका छन्। फिल्मको सफलता र प्रभावमा निर्देशकको नेतृत्व पक्कै महत्त्वपूर्ण हुन्छ, तर कलाकारको जीवन्त अभिनय बिना फिल्म पूर्ण हुँदैन। युट्युबको प्रतिक्रिया हेर्दा निर्देशक निश्चलको ‘ब्रान्ड भ्यालु’ यति बलियो देखिएको छ कि जसका अगाडि फिल्मका प्रभावशाली कलाकारहरू समेत ओझेलमा परेको भान हुन्छ।

माघ २७, २०८२ मंगलबार १९:०२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।