टी२० विश्वकपमा नामिबियाद्वारा नेदरल्याण्ड्सलाई एक सय ५७ रनको लक्ष्य
काठमाडौं : आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत दिल्लीमा जारी समूह ‘ए’को मंगलबारको पहिलो खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ।
दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनायो।
नामिबियाका लागि जान निकोल लफ्टी-ईटनले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ३८ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे। अर्का अनुभवी ब्याटर जान फ्राइलिङ्कले २६ बलमा ३० रन जोडे।
मध्यक्रममा कप्तान गेरहार्ड इरास्मसले आक्रामक पारी खेल्ने प्रयास गरे पनि १८ रनमा बास डी लिडेको शिकार बने।
जेजे स्मिटले १५ बलमा २२ रनको उपयोगी योगदान दिए। सुरुवाती ब्याटर लौरेन स्टिनक्याम्प भने मात्र ६ रनमा आउट भएका थिए। नामिबियाले अन्तिम ५ ओभरमा ४ विकेट गुमाएर ४७ रन जोडेको थियो।
यस खेलमार्फत नामिबियाका विलेम माइबर्गले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्, यद्यपि उनी ४ रनमै रनआउट हुन पुगे।
नेदरल्याण्ड्सका बलरहरूले कसिलो बलिङ गर्दै नामिबियालाई ठूलो स्कोर बनाउनबाट रोके। लोगान भान बीकले ३ ओभरमा मात्र १३ रन खर्चेर २ विकेट लिए।
त्यस्तै, बास डी लिडेले ३ ओभरमा २० रन दिएर २ महत्त्वपूर्ण विकेट लिए। अर्यन दत्त र फ्रेड क्लासेनको नाममा १-१ विकेट रह्यो।
अब १५७ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।
माघ २७, २०८२ मंगलबार १३:०५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।