न्यूजिल्यान्डसँगको खेलअघि अनुशासन तोडेको भन्दै युएईले ब्याटर मोहम्मद जोहेबलाई घर फर्कायो
एजेन्सी : टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेल खेल्नु ठिक अघि संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना ब्याटर मोहम्मद जोहेबलाई घर फर्काएको छ।
‘अनुशासनसम्बन्धी कारण’ देखाउँदै इमिरेट्स क्रिकेट बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै उनलाई टिमबाट हटाइएको जानकारी दिएको हो।
मंगलबार (आज) चेन्नईमा न्युजिल्याण्डविरुद्ध हुने खेलको पूर्वसन्ध्यामा यो निर्णय लिइएको हो। सन् २०२२ पछि युएईले खेल्न लागेको यो पहिलो विश्वकप खेल हो।
जोहेबको बहिर्गमनले युएईको ब्याटिङ लाइनअपमा दबाब थपेको छ। भर्खरै इटालीविरुद्धको वार्म-अप खेलमा युएई ८१ रनमै अलआउट भएको थियो, जहाँ जोहेबले नवौं नम्बरमा ब्याटिङ गरेका थिए।
त्यसअघि नेपालविरुद्धको वार्म-अप खेलमा भने उनले तेस्रो नम्बरमा ब्याटिङ गर्दै २६ बलमा १९ रन बनाएका थिए। सन् २०२५ को मे महिनामा डेब्यु गरेका जोहेबले युएईका लागि १६ वटा टी-२० खेल खेलेका छन्।
न्युजिल्याण्डविरुद्धको खेलअघि युएईका कप्तान मोहम्मद वासिमले आफ्नो टोलीको तयारी र एकताको बारेमा कुरा गरेका छन्। युएईको टिममा भारत र पाकिस्तान मूलका खेलाडीहरू भए पनि टिममा कुनै विभाजन नभएको उनले स्पष्ट पारे।
कप्तान वासिमले भने, ‘यहाँ इन्डिया-पाकिस्तान भन्ने केही छैन। हामी युएईका लागि खेलिरहेका छौँ र हामी एउटा परिवारजस्तै बस्छौँ, सँगै खान्छौँ। इमान्दारीपूर्वक भन्दा टिममा कोही पनि इन्डियन वा पाकिस्तानी भनेर छुट्टिँदैनन्।’
सन् २०२३ मा दुबईमा न्युजिल्याण्डलाई हराएको अनुभवले यसपटक पनि राम्रो गर्न हौसला मिल्ने कप्तान वासिमको विश्वास छ।
उनले भने, ‘हाम्रो रणनीति सरल छ। हामीले उनीहरूलाई पहिले पनि हराएका थियौँ, तर अहिले ठाउँ र प्रतियोगिता फरक छ। हामीले च्याम्पियन टिम जसरी तयारी गरेका छौँ।’
माघ २७, २०८२ मंगलबार ०९:५५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।