युक्रेन र फ्रान्सबीच हतियार उत्पादनमा सहमति, रक्षा क्षमता सुदृढ गर्ने लक्ष्य
एजेन्सी : रुसी आक्रमणको चार वर्ष पुग्न लाग्दा युक्रेनले आफ्नो प्रमुख सहयोगी राष्ट्र फ्रान्ससँग मिलेर हतियार उत्पादन थाल्ने भएको छ।
किएभमा भएको दुई देशका रक्षामन्त्रीस्तरीय वार्तामा हतियार आपूर्तिमा मात्र निर्भर नभई संयुक्त उत्पादन र दीर्घकालीन समाधानमा केन्द्रित हुने सहमति जुट्यो। रुसले आक्रमण सुरु गरेयता फ्रान्सले युक्रेनलाई सैन्य सहायता मात्र नभई राजनीतिक समर्थन पनि जनाउँदै आयो।
किएभमा भएको भेटपछि युक्रेनका रक्षामन्त्री मिखाइलो फेदोरोभले सामाजिक सञ्जालमा जानकारी दिँदै रक्षा उद्योगमा ‘ठूलो स्तरका संयुक्त परियोजना’ अघि बढाउने आशय पत्रमा दुवै देशबीच हस्ताक्षर भएको बताए। उनले भने, “अब हामी आपूर्ति मात्र होइन, संयुक्त उत्पादन र दीर्घकालीन समाधानतर्फ अघि बढ्दैछौं, जसले हाम्रो रक्षा क्षमता व्यवस्थित रूपमा सुदृढ बनाउनेछ।”
हालसम्म कुन हतियार उत्पादन गरिनेछ तथा कहिले उत्पादन सुरु हुनेछ भन्ने विषयमा विवरण खुलाइएको छैन। भेटका क्रममा युक्रेनलाई थप फ्रान्सेली हतियार र सैन्य उपकरण उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो। यसमा क्षेप्यास्त्र प्रणाली, लडाकु विमान र हवाई प्रतिरक्षा प्रणालीहरू समावेश रहेको बताइएको छ।
फ्रान्सकी रक्षामन्त्री क्याथरिन भोट्रिनले आइतबार सामाजिक सञ्जालमा ‘फ्रान्स युक्रेनी जनताको साथमा छ र सधैं रहनेछ’ भन्ने प्रतिबद्धता व्यक्त गरे।
फ्रान्सले गत वर्ष युक्रेनलाई दुई अर्ब युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको थियो। नोभेम्बरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोंबीच युक्रेनलाई अत्याधुनिक लडाकु विमान प्रदान गर्ने सम्भावनासम्बन्धी आशय पत्रमा पनि हस्ताक्षर भएको थियो।
विशेषज्ञहरूको अनुसार, संयुक्त हतियार उत्पादनको सहमतिले युक्रेनको रक्षा उद्योगलाई मजबुत बनाउने र युरोपेली सुरक्षा सहकार्यलाई नयाँ चरणमा पुर्याउने अपेक्षा गरिएको छ।
माघ २६, २०८२ सोमबार २२:०६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।