नतिजा दिन राज्यका निकायको सुधारमा गगन थापाको जोड
मोरङ : नेपाली कांग्रेसका सभापति गगन थापाले कुशासनको अन्त्यलाई पार्टीको बटमलाइन बनाउँदै सुशासन र समुन्नत नेपाल निर्माणको संकल्पका साथ अघि बढ्न निर्देशन दिएका छन्। 'बदलिएको कांग्रेस' अभियानमार्फत कुशासन अन्त्य र विधिको शासन स्थापनामा जोड दिइने उनको भनाई छ।
कांग्रेस कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तर्क्रियामा उनले राज्यका संवैधानिक अंगहरूको प्रभावकारिता बढाएर मात्र नागरिकलाई नतिजा दिन सकिने बताए। युवा पुस्तालाई देशमै भविष्य देखाउने र सबैसँग समान व्यवहार गर्ने राजनीतिक संस्कार बसाल्न कांग्रेस प्रतिबद्ध रहेको उनको जिकिर छ।
थापाले परम्परागत राजनीतिक शैली त्यागेर जवाफदेही शासन व्यवस्थापनमा केन्द्रित हुन नेता-कार्यकर्तालाई निर्देशन दिए। समुन्नत नेपाल निर्माणका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नागरिकलाई सहज सेवा प्रवाह नै कांग्रेसको मुख्य एजेण्डा रहने उनले स्पष्ट पारे।
“हामीले बदलिएको कांग्रेसमार्फत कुशासनको अन्त्य गर्दै विधिको शासन स्थापित गर्ने स्पष्ट योजना बनाएका छौं। नागरिक र विशेष गरी युवा पुस्ताको भावनाअनुसार अगाडि बढ्छौं,” थापाले भने, “त्यसका लागि जवाफदेही शासन, राज्यका निकायलाई थप प्रभावकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत, महान्यायाधिवक्ताको कार्यालयमा सुधार गरी नागरिकलाई सहज सेवा प्रदान गर्ने अवस्था बनाउँछौं।”
आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल बनाइने उनको भनाई छ। थापाले आगामी निर्वाचनमार्फत जनादेश लिएर नागरिकको भावनाअनुसार शासन व्यवस्थालाई बलियो र जवाफदेही बनाउनुपर्नेमा जोड दिए।
कांग्रेसले देशलाई अर्को द्वन्द्वमा पर्न नदिने गरी हालको अवस्थालाई सम्हाल्दै र सुधारको जग बसाल्ने भन्दै उनले दलित, मुस्लिम, अल्पसङ्ख्यक, मधेसी, महिलाका हक अधिकार सुनिश्चित र धर्म, संस्कृतिको संरक्षण गर्ने बताए।
महामन्त्री गुरुराज घिमिरेले पार्टी पुनर्गठनपश्चात् सबै एकताबद्ध भएर चुनावमा होमिएको र अब परिणामका लागि विवाद ढङ्गले अगाडि बढ्ने बताए। उनले भने, “पार्टीको नेतृत्व बदलिएको छ। योसँग देशका समस्या, जेनजी आन्दोलनका मुद्दाप्रतिको स्पष्ट बुझाइसहित अगाडि बढेका छौं। अब देश बदल्ने छौं। नेपालीलाई सम्मानित र आत्मनिर्भर बनाउन केन्द्रित हुनेछौं।”
नेता डा शेखर कोइरालाले लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै पार्टीले सम्पूर्ण नेपाली जनताको सुखद भविष्य निर्माणका इमान्दार प्रयत्न गर्ने बताए। उनले जेनजी आन्दोलनका मुख्य एजेण्डा सुशासन, भ्रष्टाचारको अन्त्य र समृद्धि कायम गर्न पार्टीले सबैलाई साथमा लिएर काम गर्न बताए।
माघ २६, २०८२ सोमबार २१:४४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।