अब नेपाल टेलिकमका देशभरका कार्यालयबाट अनलाइन केवाईसी प्रमाणीकरण

अब नेपाल टेलिकमका देशभरका कार्यालयबाट अनलाइन केवाईसी प्रमाणीकरण

काठमाडौं : नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइनमार्फत आफ्नो विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने सुविधा ल्याएको छ। टेलिकमले २२औँ वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि यो सेवा सुरु गर्यो।

यसअघि पुस २२ गतेदेखि सुन्धारा कार्यालयबाट परीक्षण सुरु गरिएको यो सुविधा अब देशभरका कार्यालयबाट सेवाग्राहीले प्रयोग गर्न सक्ने छन्। विवरण सच्याउन वा अद्यावधिक गर्न ग्राहकले टेलिकमको पोर्टल https://kyc.ntc.net.np/ मा गई आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।

अनलाइन पोर्टलमा लगइन गर्न मोबाइलमा प्राप्त हुने ओटीपी आवश्यक पर्नेछ। ग्राहकले आफ्नो व्यक्तिगत विवरणका साथै आफूले बढी सम्पर्क गर्ने ५ वटा मोबाइल नम्बरसमेत प्रविष्ट गर्नुपर्ने व्यवस्था छ। अनलाइन फाराम भरेपछि अन्तिम प्रमाणीकरणका लागि भने सेवाग्राहीले एक पटक नजिकैको नेपाल टेलिकम कार्यालय वा सेवा केन्द्रमा सम्पर्क गर्नुपर्ने प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए।

विवरण अद्यावधिक नभएका ग्राहकलाई सहज बनाउन र अन्य सरकारी सेवामा समेत समन्वय होस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको टेलिकमले जनाएको छ। 

माघ २६, २०८२ सोमबार १८:१८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।