२५ वर्षमा २६ लाख पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

२५ वर्षमा २६ लाख पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

काठमाडौँ : पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी दुई लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन्। 

एक्यापका अनुसार सन् २००१ मा ६५ हजार ३१३ विदेशी पर्यटक भित्रिएका थिए। यस्तै सन् २०२१ मा सबैभन्दा कम १६ हजार १०५ जना अन्नपूर्ण पुगेका थिए, जुन कोभिड–१९ महामारीको प्रत्यक्ष प्रभाव थियो। 

कोभिड-१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ।

एक्यापका अनुसार सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम पर्यटक आउने गरेकोमा सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलो पटक एक लाख बढी आएका थिए। 

त्यसपछि सन् २०१५ को गोरखा भूकम्पले पर्यटक आगमनमा असर पारे पनि पछिल्ला वर्षहरूमा अन्नपूर्ण क्षेत्र फेरि विश्वका पदयात्रीको रोजाइमा परेको देखिन्छ।

सन् २०२२ पछि पर्यटक आउने क्रम निरन्तर बढेको छ। सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र सन् २०२५ मा झण्डै तीन लाख विदेशी पर्यटक अन्नपूर्ण पुगेका छन्।

एक्यापका प्रमुख डा. रबिन कडरियाका अनुसार सन् २०२५ मा आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ जना रहेका छन्। उनका अनुसार पर्यटक आउने क्रम बर्सेनि बढ्दै गएको छ।

पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म अन्नपूर्ण क्षेत्र आकर्षणको केन्द्र बनेको उनले बताए ।

अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविर, मार्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानीलगायतका गन्तव्यमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।

सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति र जीवनशैलीका कारण विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ।

अन्नपूर्ण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्। छोटोदेखि लामो दूरीसम्मका पदमार्ग, पर्यटनमैत्री पूर्वाधार र स्थानीयवासीको आतिथ्यताले अन्नपूर्ण चक्रीय पदमार्गलाई अझ आकर्षक बनाएको पर्यटन व्यवसायीहरू बताउँछन्।

माघ २६, २०८२ सोमबार १५:४२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।