पपुलिज्मका नाममा लोकतन्त्रमाथि प्रहार भइरहेको प्रचण्डको टिप्पणी

पपुलिज्मका नाममा लोकतन्त्रमाथि प्रहार भइरहेको प्रचण्डको टिप्पणी

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा मौलाएको ‘पपुलिज्म’ले लोकतन्त्रमाथि खतरा निम्त्याएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालको प्रयोग गरेर पपुलिज्मका नाममा लोकतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको टिप्पणी गरे।

प्रचण्डले आफ्नो पार्टीको मागबमोजिम नै सिङ्गो मुलुक निर्वाचनमा होमिएको दाबी गरे। वर्तमान जटिल राजनीतिक परिस्थितिमा जनतामाझ जाने सबैभन्दा उपयुक्त र वैधानिक माध्यम निर्वाचन नै भएको उनको जिकिर थियो। राष्ट्रिय राजनीतिमा व्यापक तनाव र बहस भए पनि अन्ततः देश निर्वाचनकै दिशामा अघि बढेको उनले बताए।

प्रचण्डले भने, "अहिले हामी निर्वाचनको संघारमा छौं। यो निर्वाचन कसरी अगाडि बढ्छ भन्ने कुरामा राष्ट्रिय राजनीतिमा निकै धेरै तनाव र बहस भयो। यहाँसम्म आउँदा सिङ्गै राष्ट्र नै निर्वाचनमय भइनै सकेको छ। नेपाली कम्युनिष्ट पार्टीको स्थिति पनि दिनप्रतिदिन सुदृढ हुँदै गएको छ।"

सर्वदलीय सरकार र संसद पुनःस्थापनाका विषय उठे पनि आफूहरू सुरुदेखि नै ताजा जनादेशको पक्षमा रहेको उनले स्पष्ट पारे। उनले थपे, "तर हामी सुरुदेखि नै यही निष्कर्षमा डटेर उभिएका छौं कि आजको जटिल राजनीतिक अवस्थामा जनताको बीचमा जाने सबैभन्दा राम्रो माध्यम निर्वाचन हो। नयाँ जनअनुमोदनसहित आउने प्रतिनिधिसभाले जेनजीका मागहरूलाई समेत सम्बोधन गर्न सक्छ।"

‘जेनजी आन्दोलन’को मर्म र भावनाअनुसार नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्ति अटाउने गरी नयाँ पार्टी निर्माण गरिएको उनको भनाइ थियो। पार्टीको सांगठनिक विस्तारबारे जानकारी दिँदै उनले भने, "नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्ति अट्न सक्ने गरी नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छौं, यो पार्टीमा हाल साना र ठूला २६ पार्टी जोडिएका छन् भने हजारौं कार्यकर्ताहरू जोडिएका छन्।"

माघ २६, २०८२ सोमबार १५:१७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।