डेब्युमा इटाली स्कटल्याण्डसँग पराजित
काठमाडौं : टी-२० विश्वकप २०२६ अन्तर्गत सोमबार सम्पन्न समूह 'सी' को खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनले पराजित गरेको छ।
कोलकातास्थित इडन गार्डेन स्टेडियममा टस जितेर इटालीले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनायो, जुन यस विश्वकपको अहिलेसम्मको उच्च योगफल हो।
२०८ रनको लक्ष्य पछ्याएको इटाली १७.४ ओभरमा ९ विकेटको क्षतिमा १३४ रनमा समेटियो। काँधको चोटका कारण इटालीका कप्तान ब्याटिङका लागि मैदान उत्रन सकेनन्। इटालीले यसै प्रतियोगितामार्फत विश्वकपमा डेब्यु गरेको हो।
इटालीका निम्ति बेन मेनेन्तीले सर्वाधिक ५२ रन जोडे। ह्यारी मनेन्तीले ३७, जे जे स्मत्सले २२ र एन्टोनी मोस्काले १३ रन जोडे। इटालीलाई सस्तैमा रोक्न माइकल लिस्कले चार विकेट लिए। मार्क वाटले दुई विकेट लिए। ब्राड करी, ब्राड व्हिल र ओलिभर डेविडसनले समान एक विकेट लिए।
स्कटल्याण्डका ओपनर जर्ज मुन्सीले ८४ रनको सानदार अर्धशतकीय इनिङ खेले। स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले अविजित ४१ र माइकल जोन्सले ३७ रनको योगदान दिए। त्यस्तै, माइकल लिस्कले विष्फोटक ब्याटिङ गर्दै मात्र ५ बलमा अविजित २२ रन जोडे।
उत्कृष्ट प्रदर्शनका लागि लिस्कलाई 'प्लेयर अफ द म्याच' चुनियो। इटालीका तर्फबाट ग्रांट स्टिवर्ट, अली हसन, थोमस ड्राका र जेजे स्मट्सले १-१ विकेट हात पारे।
माघ २६, २०८२ सोमबार १४:४८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।