राजस्व छलीको आशंकामा छापा मार्न गएका सशस्त्र प्रहरी र व्यापारीबिच झडप, तीन प्रहरी घाइते

राजस्व छलीको आशंकामा छापा मार्न गएका सशस्त्र प्रहरी र व्यापारीबिच झडप, तीन प्रहरी घाइते

रौतहट : वीरगञ्जमा सशस्त्र प्रहरी र व्यापारीबिच झडप भएको छ। वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको हाे।

सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले छापा मार्ने क्रममा स्थिति तनावग्रस्त बनेपछि भएको झडपमा तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा संयुक्त टोली आदर्शनगरस्थित एक गोदाममा पुगेको थियो। टोलीले खानतलासी सुरु गर्न लाग्दा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि विवाद सुरु भएको थियो ।

व्यापारीहरूले आफूहरूसँग सामानको वैध बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुख दिइएको आरोप लगाएका छन्। बिल देखाउँदा पनि सामान नियन्त्रणमा लिन खोजेपछि अवस्था तनावग्रस्त बन्दै गएको व्यापारीहरूको भनाइ छ।

ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीको अगाडिको सिसा फुटेको छ। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता निकै बढाइएको छ।

सशस्त्र प्रहरीले उक्त गोदामबाट ठूलो परिमाणमा सामान नियन्त्रणमा लिएको छ। छापामारीका क्रममा सशस्त्र प्रहरीले गोदामबाट ५ पोका साडी, कुर्ता-सुरुवाल लगायतका कपडाका सामग्री नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएको सामानको मूल्य करिब ५ लाख रुपैयाँ बराबर रहेको भएपनि सामानको विस्तृत विवरण र यकिन परिमाण भने हालसम्म सार्वजनिक गरिएको छैन।

यता, आदर्शनगरका व्यापारीहरूले भने राज्यले वैध व्यवसाय गर्नेहरूलाई पनि तस्कर सरह व्यवहार गरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्।

माघ २६, २०८२ सोमबार १४:३३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।