एपस्टाइन फाइलमा जुकरबर्ग-मस्कको तस्बिर पनि समावेश, पुगेका थिए ‘वाडल्ड डिनर’मा
एजेन्सी : यौन अपराधी तथा अमेरिकी अर्बपति जेफ्री एपस्टीनसँग सम्बन्धित गोप्य फाइल सार्वजनिक भएसँगै विश्वका चर्चित व्यक्तिहरूसँगको उनको सम्बन्धबारे नयाँ खुलासा भइरहेका छन्।
भर्खरै सार्वजनिक भएको एक तस्बिरमा टेस्लाका प्रमुख इलोन मस्क र मेटा (फेसबुक)का सीईओ मार्क जुकरबर्ग सँगै डिनर गरिरहेको देखिएका छन्।
सन् २०१५ को भनिएको उक्त तस्बिरमा पेपालका सह-संस्थापक पिटर थिल र एमआईटी मिडिया ल्याबका पूर्व निर्देशक जोई इतो पनि देखिएका छन्।
अमेरिकी न्याय विभागले ३० जनवरीमा एपस्टीनका ३० लाखभन्दा बढी दस्तावेज सार्वजनिक गरेपछि यस्ता नयाँ तथ्यहरू बाहिर आउन थालेका हुन्।
डिया रिपोर्टका अनुसार, जेफ्री एपस्टीनले ‘वाइल्ड डिनर’ भनेको डिनर पार्टी यही हो। एपस्टीनले यो तस्बिर सन् २०१५ अगस्टमा आफैँलाई इमेल गरेका थिए र न्युयोर्कस्थित आफ्नो अपार्टमेन्टमा फ्रेम गरेर राखेका थिए।
एपस्टीनको इमेल: ‘वाइल्ड’ थियो डिनर
सार्वजनिक फाइल अनुसार, २ अगस्ट २०१५ मा एपस्टीनले आफ्ना साथी पिटर एटियालाई इमेल गर्दै ‘आज राति इलोन मस्क, पिटर थिल र मार्क जुकरबर्गसँग डिनर छ’ भनेर लेखेका थिए।
त्यसको केही दिनपछि २० अगस्टमा अर्का अर्बपति टम प्रिट्जकरलाई पठाएको इमेलमा उनले उक्त डिनरलाई ‘वाइल्ड’ भनेर वर्णन गरेका थिए।
इलोन मस्कको नाम यसअघि पनि एपस्टीन फाइल्समा जोडिएको थियो। सन् २०१२ को एक इमेलमा मस्कले एपस्टीनलाई ‘तपाईंको आइसल्यान्डमा सबैभन्दा वाइल्ड पार्टी कहिले हुन्छ?’ भनेर सोधेको उल्लेख छ।
बेलायती प्रधानमन्त्रीको कुर्सी सङ्कटमा
एपस्टीन फाइल्सको असर बेलायतको राजनीतिमा पनि देखिएको छ। प्रधानमन्त्री कियर स्टार्मरको सरकार यो विवादका कारण सङ्कटमा परेको छ।
विवाद बढ्दै गएपछि प्रधानमन्त्रीका सबैभन्दा नजिकका सहयोगी तथा चिफ अफ स्टाफ मोर्गन म्याकस्वीनीले राजीनामा दिनुपरेको छ।
यौन अपराधी एपस्टीनका समर्थक पिटर मन्डेलसनलाई अमेरिकाका लागि बेलायती राजदूत बनाएर पठाएको आरोप म्याकस्वीनीमाथि छ। उनले उक्त नियुक्ति गलत भएको स्वीकार गरेका छन्।
उता मन्डेलसनमाथि भने एपस्टीन जेल परिसकेपछि पनि उनले समर्थन जारी राखेको र बेलायतको व्यापार मन्त्री छँदा संवेदनशील जानकारीहरू एपस्टीनलाई चुहाएको आरोप छ।
प्रधानमन्त्री स्टार्मरले पनि मन्डेलसनले आफूसँग झुटो बोलेको र त्यही झुटमा विश्वास गरेर उनलाई राजदूत बनाएकोमा पछुतो व्यक्त गरेका छन्। विपक्षी दलहरूले यो घटनाको जिम्मेवारी लिँदै प्रधानमन्त्री स्टार्मरले नै राजीनामा दिनुपर्ने माग गरिरहेका छन्।
को थिए जेफ्री एपस्टीन?
जेफ्री एपस्टीन न्युयोर्कका एक करोडपति फाइनान्सर थिए, जसको सम्बन्ध विश्वका शक्तिशाली नेता र सेलिब्रेटीहरूसँग थियो।
उनीमाथि नाबालिग किशोरीहरूको यौन शोषण र मानव बेचबिखन गरेको गम्भीर आरोप लागेको थियो।
सन् २०१९ मा पक्राउ परेका एपस्टीनले मुद्दाको सुनुवाइ हुनुअघि नै जेलभित्र आत्महत्या गरेका थिए। उनकी सहयोगी घिसलेन म्याक्सवेल हाल २० वर्षको जेल सजाय काटिरहेकी छिन्।
माघ २६, २०८२ सोमबार १४:२१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।