सिरहामा प्रधानमन्त्री र सीडीओसहित ठेकेदारको पुतला दहन

सिरहामा प्रधानमन्त्री र सीडीओसहित ठेकेदारको पुतला दहन

सिरहा :  सिरहाको हुलाकी राजमार्गमा शृङ्खलाबद्ध सवारी दुर्घटना र मानवीय क्षति बढ्दै गएको विरोधमा स्थानीय युवाहरूले प्रदर्शन गरेका छन्।

पटक-पटकको दुर्घटनाका बावजुद सम्बन्धित निकायले सडक सुरक्षामा चासो नदेखाएको भन्दै आक्रोशित युवाहरूले आइतबार विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा युवाहरूले प्रधानमन्त्री सुशील कार्की, सिरहाका प्रमुख जिल्ला अधिकारी र हुलाकी राजमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार किशोरी कलम साहको पुतला दहन गरेका छन्।

लापरबाहीले बढायो दुर्घटना प्रदर्शनकारीहरूले हुलाकी राजमार्गको अव्यवस्थित अवस्था, निर्माण कार्यमा भइरहेको चरम लापरबाही र आवश्यक सडक संकेत चिन्हहरूको अभावका कारण सर्वसाधारणले ज्यान गुमाउनु परेको दाबी गरेका छन्।

सडक निर्माणको काम अधुरो छोडिएका ठाउँहरूमा सुरक्षाका उपाय नअपनाउँदा जोखिम बढेको उनीहरूको तर्क छ।

उनीहरूले अव्यवस्थित सडकको तत्काल मर्मत र सुधार गरिनुपर्ने, राजमार्गका संवेदनशील क्षेत्रहरूमा ट्राफिक संकेत चिन्ह र गति सीमित गर्ने व्यवस्था मिलाउनुपर्ने, निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गरी कामलाई तीव्रता दिनुपर्ने र ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउनुपर्ने माग गरेका छन्।

आन्दोलनको चेतावनी प्रदर्शनमा सहभागी युवाहरूले जिम्मेवार निकायले तत्काल आफ्ना मागहरू सम्बोधन नगरे र सडक सुरक्षाको प्रत्याभूति नगराए थप सशक्त र कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। राजमार्गमा हुने मानवीय क्षति रोक्न प्रशासन र निर्माण पक्ष दुवै जवाफदेही हुनुपर्ने उनीहरूको माग छ।

माघ २६, २०८२ सोमबार १३:३४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।