जारी विश्वकपमा २०० को आँकडा पार गर्ने पहिलो टोली स्कटल्यान्ड, इटालीलाई २०८ रनको लक्ष्य

जारी विश्वकपमा २०० को आँकडा पार गर्ने पहिलो टोली स्कटल्यान्ड, इटालीलाई २०८ रनको लक्ष्य

एजेन्सी : भारतमा जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आइतबार कोलकाताको ईडेन गार्डेनमा भएको समूह ‘सी’को खेलमा स्कटल्याण्डले इटालीलाई जितका लागि २०८ रनको विशाल लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको विशाल योगफल तयार गरेको हो। यो जारी विश्वकपमा कुनै पनि टोलीले बनाएको पहिलो २०० भन्दा माथिको स्कोर हो।

स्कटल्याण्डलाई विशाल योगफलमा पुर्याउन ओपनरहरू जर्ज मुन्से र माइकल जोन्सले उत्कृष्ट सुरुवात गरे। यी दुईबीच पहिलो विकेटका लागि १२६ रनको बलियो साझेदारी भयो।

जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाए। अर्का ओपनर माइकल जोन्सले ३० बलमा २ चौकासहित ३७ रन जोडे।

ओपनरहरू आउट भएपछि आएका ब्रान्डन म्याकमुलेनले अन्तिम ओभरहरूमा विष्फोटक ब्याटिङ गरे। उनले मात्र १८ बलमा ४ छक्का प्रहार गर्दै ४१ रन (नटआउट) बनाए।

यस्तै, कप्तान रिची बेरिङ्टनले १५ रन बनाए भने अन्त्यमा आएका माइकल लिस्कले ५ बलमै २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको अविजित पारी खेले। लिस्कको स्ट्राइक रेट ४४०.०० रहेको थियो।

इटालीका बलरहरू स्कटल्याण्डका ब्याटरसामु महँगो साबित भए। अलि हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मट्सले १-१ विकेट लिए पनि रन रोक्न सकेनन्।

विशेष गरी ग्रान्ट स्टेवार्ट (४ ओभरमा ४४ रन) र थोमस ड्राका (२ ओभरमा ३७ रन) निकै महँगो साबित भए।

२०८ रनको विजय लक्ष्य पछ्याउँदै इटालीले अब आफ्नो जवाफी ब्याटिङ सुरु गर्नेछ।

माघ २६, २०८२ सोमबार १२:५५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।