दाङमा निर्माणाधीन पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

दाङमा निर्माणाधीन पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान दाङको घोराही उपमहानगरपालिका-१६ सेवाखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लुप्र ०२-००१ प ११०२ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार उक्त मोटरसाइकल अनियन्त्रित भएर सेवाखोलामा निर्माणाधीन पुलबाट खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक रोल्पा त्रिवेणी गाउँपालिका-७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र सोही मोटरसाइकलमा पछाडि सवार तुलसीपुर उपमहानगरपालिका-१७ झिँगैका ३९ वर्षीय कमल वलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

माघ २६, २०८२ सोमबार १२:५१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।