जापान निर्वाचन: ट्रम्पको समर्थन पाएकी ताकाइची नेतृत्वको दललाई भारी बहुमत

जापान निर्वाचन: ट्रम्पको समर्थन पाएकी ताकाइची नेतृत्वको दललाई भारी बहुमत

एजेन्सी : जापानकाे प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) अत्यधिक बहुमत सहित विजयी भएकाे छ।

आइतबार भएको निर्वाचनमा ताकाइची नेतृत्वको सत्तारुढ एलडीपीले भारी बहुमत हासिल गरेको हाे।

प्रधानमन्त्री ताकाइचीका लागि जनमत संग्रहको रूपमा हेरिएको यस निर्वाचनमा चार सय ६५ सदस्यीय तल्लो सदनमा एलडीपीले तीन सय १६ सिट जितेको छ।

दोस्रो विश्वयुद्धपछि जापानमा कुनै एउटा दलले दुई-तिहाइ सिट जितेको यो पहिलो पटक हो। 

पार्टीको जितपछि ताकाइचीले भनिन्, ‘मैले जिम्मेवार र सक्रिय वित्तीय नीतिका लागि जनादेश मागेको थिएँ, जसले अर्थतन्त्रलाई नयाँ दिशा दिनेछ।’

जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा इतिहास रचेकी कट्टरपन्थी अनुदारवादी नेता ताकाइचीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत समर्थन रहेको थियो।

ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई बधाई दिँदै उनको साहस र बुद्धिमानी निर्णयले ठुलो सफलता पाएको बताएका छन्।

ताकाइचीले पनि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पलाई धन्यवाद दिँदै अमेरिका-जापान गठबन्धनको सम्भावना “असीमित” रहेको उल्लेख गरेकी छिन्।

सञ्चारमाध्यमहरूले प्रधानमन्त्री सानाए ताकाइचीको शानदार चुनावी विजयलाई ऐतिहासिक भनेसँगै जापानी सेयर बजार उकालाे लागेकाे छ।

गत असोजमा शिगेरु इशिबाको राजीनामापछि सत्तामा आएकी ताकाइचीले आफ्नो पद दाउमा राखेर संसद भंग गरेकी थिइन्।

उनको कार्यशैली, सामाजिक सञ्जालमा सक्रियता र ‘मार्ग्रेट थ्याचर’ बाट प्रेरित राजनीतिक छविका कारण उनी जापानी जनतामाझ निकै लोकप्रिय बनेकी छिन्।

माघ २६, २०८२ सोमबार ११:१९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।