वायु प्रदूषणमा काठमाडौं विश्वको छैटौं स्थानमा, लाहोर सबैभन्दा प्रदूषित

वायु प्रदूषणमा काठमाडौं विश्वको छैटौं स्थानमा, लाहोर सबैभन्दा प्रदूषित

काठमाडौं : काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा फेरि उच्च विन्दुमा पुगेको छ।

विश्वभरको वायु प्रदूषण मापन गर्ने संस्था आईक्युएयरले सार्वजनिक गरेको ताजा तथ्याङ्क अनुसार काठमाडौं विश्वका १० प्रदूषित सहरहरूको सूचीमा छैटौँ स्थानमा परेको छ।

सोमबार विहान १० बजेदेखि ११ बजेसम्मको मापन अनुसार, काठमाडौंको वायु गुणस्तर सूचकांक १८४  पुगेको छ।

१५० भन्दा माथिको एक्युआईलाई अस्वस्थकर मानिन्छ, जसले गर्दा काठमाडौंको हावा श्वासप्रश्वासका लागि हानिकारक बनेको छ।

आईक्युएयरको सूची अनुसार, विश्वकै सबैभन्दा प्रदूषित सहरमा पाकिस्तानको लाहोर रहेको छ। लाहोरको एक्युआई २६१ पुगेको छ, जुन अति अस्वस्थकर श्रेणीमा पर्छ।

यस्तै, दोस्रो स्थानमा अफगानिस्तानको काबुल (२३८) र तेस्रो स्थानमा भारतको नयाँ दिल्ली (२२०) रहेका छन्। चौथो स्थानमा मङ्गोलियाको उलानबटोर (१९८) र पाँचौँ स्थानमा बङ्गलादेशको ढाका (१८८) रहेका छन्।

शीर्ष १० प्रदूषित सहरहरूको सूचीमा दक्षिण एसियाली सहरहरूको वर्चस्व देखिएको छ, जसमा भारतका कोलकाता (सातौं) र मुम्बई (नवौं) पनि समावेश छन्।

प्रदूषणको सूचीको ठीक विपरीत, पोर्चुगलको लिस्बन सहर विश्वकै सबैभन्दा स्वच्छ हावा भएको शहर बनेको छ। लिस्बनको एक्युआई मात्र ६ रहेको छ।

काठमाडौंको प्रदूषण अस्वस्थकरमा पुगेकाले बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरूलाई विशेष सतर्कता अपनाउन तथा घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।

माघ २६, २०८२ सोमबार ११:१५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।