भारतसँग विश्वकप खेल्न पाकिस्तानले आईसीसीसामू राख्यो तीन शर्त

भारतसँग विश्वकप खेल्न पाकिस्तानले आईसीसीसामू राख्यो तीन शर्त

एजेन्सी : सन् २०२६ को टी-२० विश्वकप अन्तर्गत फेब्रुअरी १५ मा हुने भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेललाई लिएर विवाद उत्कर्षमा पुगेको छ।

कोलम्बोको आर. प्रेमदासा स्टेडियममा हुने भनिएको यो खेल बहिष्कार गर्ने चेतावनी दिएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)सँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले वार्ता गरेपछि उसले केही शर्तहरू अघि सारेको छ।

पाकिस्तान सरकारले सुरक्षाको कारण देखाउँदै आफ्नो टोलीलाई भारतविरुद्ध मैदानमा उत्रन अनुमति नदिएपछि विवाद सुरु भएको थियो।

समस्या समाधानका लागि आइतबार साँझ लाहोरमा आईसीसी र पीसीबी अधिकारीहरूबीच महत्त्वपूर्ण बैठक बसेको छ। पाकिस्तानको निमन्त्रणामा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)का अध्यक्ष अमिनुल इस्लाम पनि उक्त बैठकमा सहभागी थिए।

क्रिकबजको रिपोर्ट अनुसार, पाकिस्तान क्रिकेट बोर्डले भारतविरुद्धको खेल खेल्न आईसीसी समक्ष तीनवटा मुख्य सर्तहरू अघि सारेको छ।

पाकिस्तानले आईसीसीको आम्दानीबाट आफूलाई बढी हिस्सा पाउनुपर्ने, भारतसँगको द्विपक्षीय क्रिकेट सिरिज पुनः सुरु गर्नुपर्न र म्याचका दौरान खेलाडीहरूबीच हात मिलाउने कार्यलाई अनिवार्य गरिनुपर्ने माग गरेको छ।

यो विवादको सुरुवात बंगलादेश क्रिकेट बोर्डले सुरक्षा कारण देखाउँदै आफ्नो म्याचको भेन्यु परिवर्तन गर्न माग गरेपछि भएको थियो।

आईसीसीले उक्त माग अस्वीकार गर्दै बंगलादेशको सट्टा स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गरेको थियो। यसैको विरोध र बंगलादेशको समर्थनमा पाकिस्तानले कोलम्बोमा हुने भारतविरुद्धको खेल नखेल्ने बताएको थियो।

आयोजक राष्ट्र श्रीलंकाले पाकिस्तानको बहिष्कारको धम्कीप्रति असन्तुष्टि जनाएको छ। म्याच रद्द हुँदा पर्यटन र हस्पिटालिटी क्षेत्रमा ठूलो नोक्सान हुने श्रीलंकाको भनाइ छ।

साथै, श्रीलंकाले पाकिस्तानलाई अप्ठ्यारो परिस्थितिमा श्रीलंकाली टोलीले पाकिस्तान गएर अन्तर्राष्ट्रिय क्रिकेट फर्काउन गरेको सहयोगको पनि स्मरण गराएको छ।

माघ २६, २०८२ सोमबार १०:०६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।