आजको मौसम : कोशी, गण्डकी र कर्णालीका उच्च भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु

आजको मौसम : कोशी, गण्डकी र कर्णालीका उच्च भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज देशका पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका क्षेत्रमा हुस्सु र कुहिरोको प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने सम्भावना छ। बाँकी भू-भागको मौसम भने मुख्यतया सफा रहनेछ।

यसैगरी, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका तराई भू-भागका केही स्थानहरूमा भने हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।

राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशकै उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहेको छ। साथै, तराईका थोरै स्थानहरूमा राति पनि हुस्सु रहने विभागले जनाएको छ।

चिसो र हुस्सुका कारण जनजीवनमा पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

माघ २६, २०८२ सोमबार ०८:२२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।